चितवन, २९ जेठ । क्वारेन्टाइनमा रहेकामा कोरोना संक्रमणको पुष्टि हुने क्रम बढेपछि भरतपुर महानगरपालिकाका वडाध्यक्षले मेयर रेणु दाहाललाई जानकारी नै नदिई वडा सिल गर्न थालेका छन् ।
वडा नम्बर २६ का अध्यक्ष ज्ञानप्रसाद खनालले जेठ ३२ गतेसम्म वडाभित्रका सम्पूर्ण व्यवसाय पूर्णरुपमा बन्द गरेको सूचना निकालेका छन् ।
भरतपुर महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष विजय भुजेलले जेठ २८ गतेदेखि असार ३ गतेसम्म ८ दिन वडा सिल गरिएको सूचना निकालेका छन् ।
वडा नं. ५ का वडाध्यक्ष पदमपाणी सुवेदीले जेठ २८ देखि ३२ गतेसम्म ५ दिन, वडा नं. २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले जेठ २८ देखि ३२ गतेसम्म वडा सिल गरेका छन् ।
वडा नं. ६ का वडाध्यक्ष हरिविलास कोइरालाले जेठ २७ देखि ३२ गतेसम्म ६ दिन, वडा नं. १८ का वडाध्यक्ष दीपक लामाले जेठ २९ गतेदेखि ३२ गतेसम्म ४ दिन, वडा नं. २२ का वडाध्यक्ष विष्णुराज महतोले जेठ २७ गतेदेखि ३२ गतेसम्म ६ दिन वडा सील गरेको जनाएका छन् ।
वडा नं. ११ का वडाध्यक्ष बाबुराम अधिकारीले दिन तोकेर वडा सील गराएका छैनन् तर उनले सरकारले जारी गरेको लकडाउन कडाइका साथ पालना गर्न सूचना जारी गरेका छन् ।
सील गरिएको वडा नं. २५ र १८ मा अहिलेसम्म एक जना पनि संक्रमित भेटिएका छैनन् । तर उनीहरुले दूध, औषधि, मेडिकल उपकरण, डेरी, पशुपंछी दाना, खाद्यान्न बाहेकका पसल, उद्योग, बैंक तथा वित्तीय संघसंस्था बन्द गर्न भनेका छन् । वडा नं. २२ का वडाध्यक्ष विष्णुराज महतोले जनगुनासोको आधारमा केहीदिन हेरौं भनेर वडा बन्द गरिएको बताए ।
यी सिल गरिएका केही वडाबाहेकले महानगरपालिकामा जानकारी गराएका छैनन् । प्रमुख दाहाललाई समेत जानकारी नदिई आफूखुसी यसरी वडा सिल गरिएको गुनासो आएको हो ।
तर महानगरका वडाध्यक्षको यस्तो निर्णयप्रति जिल्ला प्रशासन कार्यालय सन्तुष्ट छैन । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले वडाध्यक्ष र जनप्रतिनिधिहरुले आफूखुसी वडा बन्द गराउनु गलत भएको बताएका छन् । आफ्ना वडामा पर्ने बैंक र वित्तिय संस्थालाई समेत बन्द गराउने अधिकार वडाध्यक्षसँग नभएको प्रशासनको भनाई छ ।











प्रतिक्रिया