काठमाडाैं, २७ जेठ । नेपाल र भारतबीचको सीमा विवादमा चीनको दोहोरो मापदण्ड देखिएको छ । चीनले भारतको अतिक्रमणमा परेको कालापानीलाई नेपाली जमिन भन्न सकेको छैन । तर, नेपाली जमिन लिपुलेकमा नाका खोल्न चीनले भारतसँग पटकपटक सम्झौता गरेको छ । भारतले लिम्पियाधुरादेखि पूर्व कालापानीसम्मको नेपाली जमिन अतिक्रमण गर्दै आए पनि उत्तरी साँध जोडिएको चीनले नेपाल र भारतको द्विपक्षीय विषय भनेर पन्छिँदै आएको छ ।
२९ अप्रिल १९५४ मा चीन र भारतबीच लिपुलेकसहितका ६ वटा नाका खोल्ने सहमति भएको थियो । यसको सात वर्षपछि ५ अक्टोबर १९६१ मा भएको नेपाल चीन सीमा सन्धिमा लिपुलेक भञ्ज्याङछेउबाट टिंकरतिर आउँदै गर्दा बीचमा पर्ने लिपुडाँडा (लिपुधुरा)बाट सीमांकन सुरु गर्ने भनिएको छ । त्यसयता चीन र भारतले पटकपटक नेपाली भूमि लिपुलेक भएर व्यापार र धार्मिक यात्रा (कैलाश मानसरोवर)का लागि नाका खोल्ने सहमति गर्दै आएका छन् ।
चीनले लिपुलेकका बारेमा २०११ सालदेखि भारतसँग सम्झौता गर्दै आएको छ । कालापानीका विषयमा ०५६ देखि नेपाल र भारतको विवाद भन्दै आएको छ । १ पुस २०६५ मा नेपाल जागरण पत्रिकामा प्रकाशित अन्तर्वार्तामा तत्कालीन चिनियाँ राजदूत जेंग सुयोंगले भनेका थिए, ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विवाद हो । द्विपक्षीय विषय मैत्रीपूर्ण संवादबाट शान्तिपूर्ण रूपमा समाधान हुनेछ भन्नेमा चीन स्पष्ट छ ।’
१ जेठ ०७२ मा भारत र चीनबीच जारी संयुक्त वक्तव्यमा लिपुलेक नाकालाई भारत र चीनबीच व्यापार तथा धार्मिक पर्यटनका लागि नागरिक ओहोरदोहोर गर्ने नाकाका रूपमा विकास गर्ने उल्लेख छ । त्यही सहमतिको जगमा भारतले नेपाली जमिन भएर लिपुलेकसम्म निर्माण गरेको कैलाश मानसरोवर सडक २६ वैशाखमा रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए । त्यसपछि नेपालले ७ जेठमा सुगौली सन्धिको स्पिरिटअनुसार लिम्पियाधुरा पश्चिम सीमा कायम हुने गरी नयाँ नक्सा जारी गरेको छ ।
नेपालको पूर्वी सिमानामा नेपाल, भारत र चीनबीच त्रिदेशीय बिन्दु तय भइनसकेको सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन् । ‘ताप्लेजुङको झिंसांग चुलीमा नेपाल, भारत र चीनको भेट हुन्छ । तर, त्रिदेशीय बिन्दु तोकिएको छैन । त्यसभन्दा १४ किलोमिटर पश्चिमसम्म मात्रै सीमास्तम्भ नम्बर ७९ गाडिएको छ,’ उनले भने । पूर्वमा १४ किलोमिटर छाडिए पनि पश्चिममा भने लिपुधुरादेखि लिम्पियाधुरासम्मको एयरयल डिस्टान्स ५७ किलोमिटर छ । पश्चिम नेपालको लिम्पियाधुरादेखि लिपुलेक हुँदै कालापानीसम्म करिब ३७२ वर्गकिलोमिटर जमिन भारतले ओगटेको छ । पर्शुराम काफ्लेले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया