
काठमाडौँ, २३ जेठ । नेपालमा हालसम्म ६८ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिएको छ ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सुर्खेत पञ्चपुरीका २८ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण जेठ २२ मा मृत्यु भएको बताए ।
उनी जेठ ८ गते भारतबाट आएर १४ दिनसम्म स्थानीय क्वारेन्टाइनमा बसरे घर फर्किएका प्रवक्ता देवकोटाले जनाए ।
उनले क्वारेन्टाइनमा आरडिटी परीक्षण गरी पोजेटिभ देखिएपछि घर पठाइएको तर घर पुगेकै दिन मृत्यु भएकोले पीसीआर प्रविधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको बताए । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
यता पछिल्लो २४ घण्टामा २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेका मन्त्रालयले जनाएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका ८, झापाका १ र मोरङका ६ गरी कुल १५ जनाको संक्रमण फेला परेको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाचीका १ जना, नवलपरासीका १ जना रहेका मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जनाए ।
त्यसैगरी, पाल्पाका १ जना र रुपन्देहीका १८ जना गरी २२ जना, त्रिजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र प्रयोगशाला हेटौडामा सिन्धुलिका २ जना र बाराका २ जना गरी ४ जना, गण्डकी प्रदेशमा रहेको प्रयोगशालामा तनहुँका २ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा भोजपुरका ५ जना, झापाका १ जना र सुनसरीका १३ जना गरि १९ जना, सेती अस्पतालमा कैलालिका ४ जना, अछामका १ जना, बझाङका १ जना र डडेल्धुराका ५ जना गरी ११ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।
त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रामेछापका १७ जना र काभ्रेका ५ जना गरी २२ जना, कोसी अस्पतालमा झापाका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना रामेछापका १ जना र गोरखाका १ जना गरी ९७ जनामा संक्रमण फेला परेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परीक्षणमा सुर्खेतका १ र दाङका १ गरी २ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १ जना, धनुसाका ४ जना, गुल्मीका १ जना, कपिलवस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना र रौतहटका ६ जना गरी ७४ जनामा कोरोना संक्रमण पोजेटिभ पाइएको छ ।
त्यस्तै, शुक्रबार थप ४३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या ३ सय ३३ जना पुगेको छ ।
मन्त्रालयका अुनसार देशभर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहका छन् ।















प्रतिक्रिया