३ कार्तिक २०८३, मंगलबार

त्रिविले अनलाइनबाट मौखिक परीक्षा गर्ने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदले स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि शोधपत्रको मौखिक परीक्षा (भाइभा) अनलाइनबाट लिने निर्णय गरेको छ ।

त्रिवि शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसालले उक्त निर्णय तत्काल लागू हुने जनाए ।

‘शोधार्थीले शोधका सबै प्रक्रिया र्पुयाएर सम्बन्धित क्याम्पस, विभाग, डिन कार्यालयमा शोधपत्र बुझाइसकेका छन्,’ शिक्षाध्यक्ष भुसालले भने, ‘कोभिड–१९ कारण जारी लकडाउनले विद्यार्थी उपस्थित हुन नसक्ने भएकाले भर्चुअल भाइभा लिन सक्ने निर्णय गरेका छौँ ।’ उक्त निर्णय सबै संकाय तथा अध्ययन संस्थाको डिन कार्यालय, विभागहरूमा पठाइसकेको उनले बताए ।

परिपत्रमा ‘लकडाउन अवधिमा त्रिवि अन्तर्गतका क्याम्पस, कलेज, केन्द्रीय विभाग तथा डिन कार्यालयहरू अन्तर्गत सञ्चालनमा रहेका स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तहको थेसिस लेखन कार्यको मौखिक परीक्षा (भाइभा भोस) अनलाइनबाट सञ्चालन गर्ने निर्णय भएको छ,’ भनिएको छ ।

‘स्नातक, स्नातकोत्तर, एमफिल तहको थेसिस लेखनको लागि गर्नुपर्ने पूर्व कार्यहरू प्रपोजल डिफेन्स, प्रि–भाइभा भोस डिफेन्स, सेमिनार गर्न,’ मापदण्डबारे परिपत्रमा उल्लेख छ, ‘र आवश्यक विभागीय प्रक्रिया पूरा भएको अवस्थामा अन्तिम मौखिक परीक्षा अनलाइनबाट सञ्चालन गर्न स्विकृति दिने ।’

त्यस्तै, पीएचडीका लागि भने केही फरक विधि अपनाइएको छ । ‘पीएचडी तहको थेसिसको फाइनल डिफेन्स बाहेक थेसिस लेखनको लागि पूरा गर्नुपर्ने पूर्व कार्यहरू प्रपोजल डिफेन्स, प्रि–भाइभा भोस डिफेन्स तथा सेमिनार आदि कार्य अनलाइनबाट सञ्चालन गर्न अनुमति दिने,’ आवश्यक कार्यार्थ पठाइएको परिपत्रमा जनाइएको छ ।

विश्वविद्यालयले तय गरेको अनलाइन भाइभा प्रक्रियामा शोधार्थी उपस्थित हुनुपर्नेछ । साथसाथै शोध निर्देशक, विभागीय प्रमुख, मुख्य निर्देशक, आन्तरिक निर्देशक र बाह्य निर्देशक गरी विद्यार्थीसहित बढीमा पाँच जनाबीच शोधपत्रको अन्तिम मूल्यांकन (भाइभा) हुनेछ ।

सेमेस्टर प्रणालीअनुसार अन्तिम सेमेस्टरको परीक्षा सकिएको ९० दिनभित्र परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरिसक्नु पर्दछ । त्यसैअनुसार विद्यार्थीले हासिल गरेको जीपीएको मूल्यांकन भई प्रतिस्पर्धा योग्य हुनेछ ।

जीपीए ३ प्राप्त विद्यार्थीले त्रिवि सेवा प्रवेश गर्न पाउँछन् । यसरी समय सीमाभित्र शैक्षिक योग्यता हासिल विद्यार्थीको विश्वविद्यालयले व्यवस्था गरेको विषयगत मेडेलका निम्ति प्रतिस्पर्धा योग्य हुने जनाइएको छ ।