शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रुकुम पश्चिम घटनाको विरोधमा परासीमा कोणसभा, सिडिओलाई ज्ञापनपत्र

दैनिक नेपाल २०७७ जेठ १६ गते ८:४६

मोहन पौडेल

परासी, १६ जेठ । जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनाको विरोधमा परासीमा कोणसभा गरिनुको साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।

जिल्लाका दलित अगुवाहरूले परासीको बुद्धचोकमा आयोजित कोणसभा र प्रजिअलाई बुझाएको ज्ञापनपत्र मार्फत उक्त घटनाको निन्दा गरेका छन् ।

घटनाको निष्पक्ष छानविन गरी दोषीहरूलाई कानून सम्मत कारबाही गर्न नेपाल दलित मुक्ति संगठन पश्चिम नवलपरासी र नेपाल दलित संघ पश्चिम नवलरासीले जोडदार माग गरेका हुन् ।

संविधानसभा सदस्य दुलारी हरिजनले कोणसभालाई सम्बोधन गर्दै पाँच जना होनहार युवाको मृत्यु भएको र एक जनाको स्थिति अझै अज्ञात रहेको उक्त घटनामा कतिपयलाई कुटपिटसमेत गरिएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कडा कारवाही गर्नुपर्ने माग गरिन् । उनले जातीय छुवाछुत र भेदभाव अन्त्य गर्न माग गरिन् ।

दण्डहीनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरू वृद्धि भइरहेको भन्दै नेपाल दलित मुक्ति संगठनका नेता वीरबहादुर विकले रुकुम पश्चिममा भएको दुर्दान्त घटनाका दोषीहरूमथि कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने बताए ।

दलित अगुवा एव सुनवल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन सुनारले उक्त घटनाका दोषिलाई कारवाही नगरीए आन्दोलन देशव्यापी चर्काउने चेतावनी दिए ।

रुकुम पश्चिम घटनाका सन्दर्भमा यथासक्य अनुसन्धान प्रक्रिया अघि बढाई पीडितको सुरक्षा र न्याय तथा दोषीहरूलाई कानून सम्मत कारबाही गर्न नेपाल दलित संघका जिल्ला अध्यक्ष मोहन विकले माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित