
काठमाडौँ, १५ जेठ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधितर्फ १ खर्ब ७१ ऋर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस क्षेत्रमा उच्च बजेट विनियोजन गरेका हुन् । चालू आर्थिक वर्षमा शिक्षामा १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरिएको थियो ।
त्यस्तै, सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने भएको छ । साक्षर हुन बाँकी रहेका २४ जिल्लालाई साक्षर बनाइने अर्थमन्त्री खतिवडाले बताए ।
यस्तै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सरकारले ६ अर्ब विनियोजन गरेको छ । भर्च्युअल कक्षा सञ्चालन, अनलाइन शिक्षा र रेडियो टेलिभिजन मार्फत कक्षा सञ्चालन गर्ने सरकारको तयारी छ ।
त्यस्तै, सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजामा ७ अर्ब ५२ करोड विनियोजन गरेको छ । यसबाट २८ लाख बालबालिका लाभान्वित हुने मन्त्री खतिवडाले बताए । छात्रवृत्तिका लागि २ अर्ब ७० करोड विनियोजन गरिएको उनले बताए ।
१३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहलाई सशर्त अनुदान दिने अर्थमन्त्री खतिवडाले बताए । यसका लागि १ अर्ब ८२ करोड विनियोजन गरिएको उनले बताए ।
यस्तै, गणित विज्ञान जस्ता विषयका लागि थप स्वंसेवक शिक्षक राख्नका लागि २ अर्ब २३ करोड विनियोजन गरिएको छ । सरकारले मातृ भाषामा पढाइ हुने मदरसा,गुरुकुल गुम्बा लगायतका शैक्षिक संस्थाहरुलाई मूलभूत शिक्षामा लैजााने भएको छ ।















प्रतिक्रिया