शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पहिला ‘बलात्कार’ पछि दलित भन्दै अस्वीकार गरेपछि बालिका आत्महत्याको कारुणिक कथा

प्रतिक पौडेल २०७७ जेठ १५ गते १०:११

आत्महत्या गरेकी बालिका अंगिरा पासी

-प्रतिक पौडेल

रुपन्देही, १५ जेठ । ‘बलात्कार’को शिकार भएकी रुपन्देही देवदह–११ की १३ बर्षिया बालिकाले आत्महत्यालाई रोज्नु परेको तथ्य खुलेको छ । उनलाई आत्महत्याको चरणसम्म पुग्नका लागि जनप्रतिनिधिको भूमिका पृष्ठभूमीको कारक बनेको घटनाक्रमले पुष्टि गरेको छ ।

स्थानीय अंगिरा पासीको आत्महत्याको कारण खोज्दै जाँदा यस्तो तथ्य र उनी यो निर्णयसम्म पुग्दा घटनाको शिलशिलाले यस्तो देखाउँछ ।

गत शुक्रबार साँझ भात खाएर आमासंगै सुतेकी १३ वर्षीया अंगिरा घरबाट हराएपछि आमाले गाउँलेसामु हारगुहार गरिन् ।

राति ११ बजे उनी नजिकैको खरबारीमा भेटिइन्, उनको साथमा थिए स्थानीय २५ वर्षीय वीरेन्द्र भर । विरेन्द्र अंगिराकै घरको केही पर बसोबास गर्ने युवक हुन् ।

भरले बालिकालाई फकाएर शारीरिक सम्बन्ध राखेको स्थानीय बासिन्दाहरूको भनाइ छ । तर, १३ वर्षीया अबोध बालिकालाई जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी र मानवीय रूपमा बलात्कार हो, जघन्य अपराध हो ।

इलाका प्रहरी कार्यालय बुटबलले बल्ल तल्ल लिएको दरखास्त जाहेरी

मुलुकी अपराध संहिता, २०७४ ले पनि यस्तो सम्बन्धलाई बलात्कार नै भनेको छ । सोही संहितअनुसार करणी सम्बन्धी कसूरका लागि दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदखि बीस वर्षसम्म कैद सजाय रहेको छ ।

स्थानिय युवक सन्दिप पासीको समूहले अंगिरालाई विरेन्द्रसँग आपत्तिजनक अवस्थामा भेटेको दाबी गरेका छन् । सन्दिपका अनुसार विरेन्द्रले अंगिरालाई जवरजस्ती गरेको अवस्थामा भेटिएको थियो ।

उनीहरु दुवै जना भेटिएपछि उक्त विषयमा छलफल गर्न अर्को शनिबार बिहान वडाध्यक्ष अमरबहादुर चौधरी सहित अगुवाहरूको भेला बस्यो । समाजले निर्णय सुनायो‘बालिकामाथि वीरेन्द्रले गलत ब्यवहार गर्यो त्यसैले अंगिरालाई वीरेन्द्रले श्रीमतीको रुपमा स्विकार गर्नुपर्छ ।’

अंगिराको आमा शान्ती देवी पासी, युवक वीरेन्द्रको आमा अकाली भर समाजकै बैठकमा थिइन् । समाजले अंगारीलाई वीरेन्द्रको जिम्मा लाउने निर्णय गरेपछि युवककी आमा कराउँदै ‘यस्ता दलित परिवारको केटी मेरो घरको बुहारी हुनै सक्दैन’ भन्दै हिँडेको स्थानीय प्रल्हाद पासीले बताए ।

बालिकालाई आफूमाथि भएको अपराध र उनले पाउनुपर्ने न्यायका बारेमा थाहा थिएन । उनकी आमालाई कानुनको दफाबारे जानकारी थिएन ।

त्यसमाथि उनको मत के छ भनेर समाजले सोध्दै सोधेन ।

स्थानीयले जवरजस्ती घरमा हुल्दिए पनि युवककी आमाले बालिकालाई घरभित्र पस्न नदिएपछि उनीहरु सँगै घरबाट निस्किएका थिए ।

मृतक अंगिराको जन्म दर्ताको प्रमाणपत्र, यसले उनी १३ बर्षकी मात्र हुन् भन्ने स्पष्ट गर्छ

आफ्नो घरपरिवार र केटाको घरबाट समेत लखेटिएपछि किशोरी मृत अवस्थामा शनिवार अपरान्ह ५ बजे देवदह नगरपालिकाकै वडा नं २ मा रहेको रोहिणी खोला किनारको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

आमा शान्तिदेवी पासी भन्छिन्,‘छोरीको मृत्यु भएपछी पनि युवकका काका अनरजित भर आफुसँग आएर २ लाख रुपैया लिएर चुप लाग्न दवाव दिए ।’

भरले आफुकोमा आएर २ लाख लिएर चुप लाग्ने भए लाग अहिले एकजना सन्तान गुमाइस् दोस्रो गुमाउन के बेर भनेर धम्की दिएको शान्तीदेवीले बताईन् ।

यता देवदह नगरपालिका वडा नं ११ का अध्यक्ष अमर बहादुर चौधरीले गाउँ समाजले बिहे गर्दिने निर्णय गरे पनि आफूले त्यसमा सहमति नजनाएको दाबी गरे । आफूले बिमती जनाउँदै बैठकबाट उठेर अर्कै कामको लागि हिडेको चौधरीले बताए ।

किशोरी आत्महत्याको घटनामाथि प्रहरीले जाहेरी दर्तामा पनि केही दिन ढिलाई गरेको पाइएको छ । स्थानीय अगुवा अजय रौनियारका अनुसार प्रहरीले ४ दिनसम्म घटनालाई गम्भिरता पूर्वक नलिई आत्महत्या टारेको थियो ।

चौतर्फी दबाबपछि इलाका प्रहरी कार्यालय बुटवलले मंगलबार मात्र जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नविन चुँदालीले घटनाका विषयमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जानकारी दिए ।

युवक वीरेन्द्र भर अहिले फरार छन् । उनको खोजिकार्य भैरहेको छ ।

यसरी जनप्रतिनिधि र गाउंका अगुवाहरुको कानुनी अज्ञानता र लाहपर्वाहीका कारण एक अवोध वालिकाले अकालमा ज्यान गुमाउन पुगिन् ।

अर्कोतर्फ ती निर्दोष बालिकामाथि जघन्य अपराध करणी गर्ने युवक कानुनको फन्दाबाट फरार छन् ।

प्रतिक्रिया
सम्बन्धित