शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भेरीमा बेपत्ता जाजरकोटका किशोरको डोरीले बाँधेको अवस्थामा शव फेला

दैनिक नेपाल २०७७ जेठ १४ गते २०:३७

सांकेतिक तस्वीर

काठमाडौँ, १४ जेठ । शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा भेरी नदीमका हाम फालेर बेपत्ता रहेका जाजरकोटका एक किशोरको शव फेला परेको छ ।

यससँगै घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । भेरी नगरपालिका ११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव भेटिएको प्रहरीले जनाएको छ ।

सुनारको शव डोरीले हात बाँधेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । उनको टाउकोमा पनि चोट रहेको प्रहरीको भनाइ छ ।

जेठ १० गते साँझ रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बेपत्ता भएका थिए । बेपत्तामध्ये यसअघि ३ जनाको शव भेटिइसकेको छ भने २ जना अझै बेपत्ता छन् ।

भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का सुनारको शव यसअघि नै फेला परिसकेको छ । भेरी नगरपालिका वडा नं ११ का गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् ।

नवराज बिक मल्ल थरकी आफ्नी प्रेमिकासँग बिहेका लागि ‘भगाउन’ भन्दै १० जेठ साँझ आफ्ना १७ जना साथीसहित प्रेमिकाको गाउँ सोती पुगेका थिए । त्यहाँ पुग्दा नपुग्दै गाउँलेले लखेटेपछि उक्त घटना भएको थियो ।

प्रहरीले वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि घटनाको यकिन विवरण आउने प्रहरीले बताएको छ । ण्

उता, घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो हृदय विदारक घटनाले देशलाई स्तब्ध तुल्याएको छ । त्यस्तै, जातीयता र छुवाछुतरहितको समाजको कार्यान्वयनमा ठूलो प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित