शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अभिनेत्री जल शाहले ‘खोक्रो राष्ट्रवाद मुर्दावाद’ भन्नुको अर्थ

दैनिक नेपाल २०७७ जेठ १३ गते १०:१८

काठमाडौं । लामो समयदेखि अमेरिकामा बस्दै आएकी नेपाली अभिनेत्री जल शाहले सामाजिक सञ्जालमा विदेशमा रहेका नेपालीमा राष्ट्रियता बलियो रहेको भन्ने सन्देश लेखेकी छन् ।

नेपाल–भारतबीच भएको अहिलेको सीमा विवादका क्रममा आएका कतिपयका अभिव्यक्तिलाई सांकेतिक रुपमा कटाक्ष गर्दै शाहले यस्तो लेखेकी हुन् । खासगरी अभिनेत्री बर्षा राउत यसै प्रकरणमा नेपाल–भारतका मिडियामा आएका समाचारका सन्दर्भमा बयान दिँदा चिप्लिएकी थिइन् । उनले माफी मागेको एउटा अन्तरवार्ताका क्रममा आफू नेपाललाई माया गर्ने भएकैले विदेश नगएको टिप्पणी गरेकी थिइन् ।

यसैप्रति संकेत गर्दै शाहको यस्तो अभिव्यक्ति आएको अनुमान गरिएको छ । यद्यपि, शाहले राउतको अभिव्यक्तिको प्रतिक्रिया दिएको भन्ने भानचाहिँ दिएकी छैनन् । कतिपयले कलाकारलाई नै गाली गर्दै विदेशिएको भनेपछि उनको प्रतिक्रिया यसरी आएको भन्ने बुझेका छन् ।

शाहले, सामाजिक संजालमा स्टाटस कोर्दै केही मानिसले विदेशमा नबसेकाले देशलाई माया गर्छु भन्न खोजेको भन्दै यो कस्तो मानिसकता हो भनेर प्रश्न सोधेकी छिन् ।

उनी लेख्छिन्,‘नेपालमा बस्दैमा आफू मात्र इमान्दार ? कस्तो खोक्रो बोली, छिन् छिन्मा बदलिदै जाने ? नेपाली दाजुभाई दिदीबहिनी कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन् ? संसारभर छरिएर उनीहरु आफ्नो सिप अनुसारको काम गरिरहेका छन्, आफ्नो परिवारको पेट पालिरहेका छन् । उनीहरुलाई मलाई जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमती चाहिन्छ र ?’

शाहले देशमा कुनै पनि विपत्ती आइपर्दा विदेशमा बस्ने नेपालीहरु एक भएर अगाडि बढेको बताउँदै नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का हुन्छ भन्दै प्रश्न गरेकी छिन् ।

‘नेपालीको पनि दुइवटा जात हुन्छ र ? के देश बाहिर बस्ने नेपाली, नेपाली नै होइनन् ?’, उनी जोड्छिन्,‘देशमा बसेर ठूलो गफ हाकेर आफ्नो देशलाई ठग्न र नंग्याउन त हामीलाई आउँदैन । हामीलाई आफ्नो देश रक्षाको लागि मर्न आउँछ । खोक्रो राष्ट्रबाट मुर्दावाद । जय देश ।’

प्रतिक्रिया
सम्बन्धित