
काठमाडौँ, १२ जेठ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए वान नेपालको आठौं महाधिवेशनबाट क्रमश: डिष्ट्रिक्ट गभर्नरमा टंक बहादुर श्रेष्ठ, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा रेवत बहादुर कार्की र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरमा कर्म गुरुङ्ग निर्वाचित भएका छन् ।
मुलुकमा जारी लक डाउनका कारण सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै महाधिवेशन सम्पन्न गरिएको निर्वाचन कमिटीका अध्यक्ष समेत रहनु भएका पूर्व गभर्नर कुमारराज सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार नेपाली लायन्स क्लबकै इतिहासमा पहिलो पटक लायन्स प्रतिनिधिहरुले घरमै बसी अत्यन्त सहज तथा सरल तरिकाले इलेक्ट्रोनिक मतदान गरेका थिए ।
विभिन्न प्रकारका निर्वाचन गर्ने सिंगो मुलुक सहित अन्य संघ संस्थाहरुले पनि यसरी नै इलेक्ट्रोनिक मतदान गर्दा निर्वाचन पारदर्शी हुनका साथै आर्थिक मितव्ययीता पनि हुने सुवेदीले बताए ।
मतदान प्रक्रियमा सहभागी प्रतिनिधिहरुले पनि पूर्व गभर्नर सुवेदी नेतृत्वको निर्वाचन कमिटीले ऐतिहासिक जिम्मेवारी पूरा गरेको प्रतिक्रिया दिएका छन् ।
फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वा्चित रेवत बहादुर कार्कीले सूचना प्रविधिको प्रयोग सहित सम्पन्न लायन्स क्लबको महाधिवेशन सबैका लागि उदारणीय भएको टिप्पणी गरे ।
निर्वाचन कमिटीका अध्यक्ष सुवेदी समाजसेवाका अतिरिक्त लोकतान्त्रिक आन्दोलन तथा मानवअधिकार क्षेत्रमा दशकौं अघिदेखि क्रियाशील छन् ।
सुवेदीले दिनु भएको जानकारी अनुसार इलेक्ट्रोनिक मतदानमा २ सय ७१ क्लबबाट कूल ५ सय २९ भोट मध्ये ५ सय ३ भोट खसेको थियो । सो मध्येबाट डिष्ट्रिक्ट गभर्नर पदमा लायन टंक बहादुर श्रेष्ठलाई ४ सय ८७ एस भोट प्राप्त भएको थियो ।
फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन रेवत बहादुर कार्कीले ४७९ एस भोट पाए । सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरमा लायन कर्म गुरूङले ४२२ मत पाउँदा अर्का उम्मेद्ववार दिपेन्द्र शाक्यले ८१ भोट प्राप्त गरे ।
डिष्ट्रिक्ट गभर्नर पदमा विजयी श्रेष्ठ र सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरमा विजयी गुरूङलाई निर्वाचन कमिटीका अध्यक्ष सुवेदीले प्रमाणपत्र प्रदान गर्दै कार्यकालको सफलताका लागि शुभकामना दिएका थिए । हाल विराटनगरमा रहनु भएका कार्कीलाई भने पछि प्रमाणपत्र प्रदान गरिने सुवेदीले जानकारी दिए ।















प्रतिक्रिया