बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

दैनिक नेपाल २०७७ जेठ ११ गते १८:५८

कञ्चनपुर, ११ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम लक्षित व्यक्तिको घरदैलोमै पुगेर वितरण गरेको छ ।

बन्दाबन्दीको समयमा खर्चको अभाव झेल्दै आएका ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित बालबालिकालाई वडा कार्यालयमा बैंकका कर्मचारी परिचालन गरी भत्ताको रकम वितरण गरिएको हो ।

पूर्ण अपाङ्गता भएका व्यक्ति र अति अशक्त ज्येष्ठ नागरिकको घरमै पुगेर भत्ताको रकम वितरण गरिएको छ । भत्ताको रकम नपाउँदा खर्चको निकै अभाव थियो वडा नं ३ का ज्येष्ठ नागरिक सुकमाया चौधरीले भन्नुभयो, “बन्दाबन्दीका बेला घर खर्च चलाउन झनै अप्ठेरो थियो । नगरपालिका कार्यालयले सामाजिक दूरी कायम गराई वडा कार्यालयमै भत्ताको रकम वितरण गरेपछि खर्च चलाउन सहज भएको छ ।”

घरमै बैंकका कर्मचारी पुगेर भत्ताको रकम प्रदान गरेपछि न्यून दृष्टियुक्त (दृष्टिविहीन) जन्तरा बोहराले खुशी व्यक्त गर्नुभयो । भत्ताको रकम बुझ्नैकै लागि परिवारको सहायतामा तीन किलोमिटरको दूरी तय गर्दै वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो उहाँले भन्नुभयो, “नगरपालिकाले बैंकका कर्मचारी खटाएर घरमै पुगेर भत्ताको रकम प्रदान गरेपछि निकै खुशी भएको छु । भत्ताको रकम पाइएपछि खर्च चलाउनसमेत सहज भएको छ ।”

नगरपालिकाको सामाजिक सुरक्षा शाखाले आव २०७६र७७ को दोस्रो चौमासिकको एक हजार ८४६ जना ज्येष्ठ नागरिकलाई, ज्येष्ठ दलित ६३५, एकल महिला एक हजार ८५१, पूर्ण अपाङ्गता भएका व्यक्ति ११८ जनालाई भत्ताको रकम वितरण गरेको छ ।

यसैगरी, अति अशक्त अपाङ्गता भएका व्यक्ति १७७, दलित बालबालिका सुरक्षा भत्ता ६२७ र ज्येष्ठ नागरिक औषधि उपचार भत्ता रकम दुई हजार ६०२ जनालाई वितरण गरिएको नगरपालिकाका सामाजिक सुरक्षा शाखाका प्रमुख राजेन्द्रबहादुर सिंहले बताउनुभयो ।

उहाँका अनुसार ज्येष्ठ नागरिक ७० वर्ष उमेर पुगेकालाई रु दुई हजार, ज्येष्ठ दलित ६० वर्ष उमेर पुगेकालाई रु दुई हजार, एकल महिलालाई रु दुई हजार, पूर्ण अपाङ्गता भएका व्यक्तिलाई रु तीन हजार, अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई रु एक हजार ६०० र पाँच वर्षमुनिका दलित बालबालिकालाई सुरक्षा भत्ताको रु ४०० प्रतिमहिनाका दरले उपलबध गराइएको छ । ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई औषधि उपचार खर्चवापतको मासिकरुपमा पाउने रु एक हजारका दरले रकम वितरण गरिएको छ ।

दोस्रो चौमासिकको रु चार महिनाको हुन आउने भत्ताको रकम वितरण गरिएको उहाँको भनाइ रहेको छ । भत्ताको रकमसँगै वडा कार्यालयले भत्ताको रकम बुझ्न आउने ज्येष्ठ नागरिकलगायतलाई एउटा साबुन र एउटा मास्कसमेत प्रदान गरेको छ ।

नगर प्रमुख दिलबहादुर ऐरले घरदैलोमै सेवा पुरयाउने लक्ष्यसहित बन्दबन्दीका बेला बैंकका कर्मचारी परिचालन गरी सामाजिक सुरक्षाअन्तर्गतको रकम वितरण गरिएको बताउनुभयो । बन्दाबन्दीका बेला खर्चको अभाव हुन नदिनका लागि सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम वितरण गरेका छौँ उहाँले भन्नुभयो, “जसबाट लक्षित वर्गलाई राहत पुगेको छ ।” –रासस

प्रतिक्रिया
सम्बन्धित