शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कोरोनाका कारण मृत्यु भएकी महिलाकी शिशु, आमा र श्रीमान डिस्चार्ज

दैनिक नेपाल २०७७ जेठ ९ गते १८:४८

काठमाडौँ, ९ जेठ । कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएकी महिलाकी आमा, शिशु र श्रीमान डिस्चार्ज भएका छन् ।

धुलिखेल अस्पतालमा जेठ ४ गते ११ दिने शिशुसहित आइसोलेसनमा राखिएका आमा, श्रीमान र शिशुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको हो ।

सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । ६ दिनदेखि उनीहरु अस्पतालको निगरानीमा आइसोलेसनमा थिए ।

बालकको दुई पटक भएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शुक्रबार डिस्चार्ज भएको र अब १४ दिन घरकै क्वारेन्टाइनमा बसेपछि पीसीआर परीक्षण गरिने धुलिखेल अस्पतालले जनाएको छ ।

मृतक महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मीको १० जना टिमलाई पनि आइसोलेसनमा राखिएको थियो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले पहिलो मृत्यु भएको हो । वैशाख ३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उनी २४ गते नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी थिइन् ।

घर पुगेपछि ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि समेत विभिन्न शारीरिक समस्या आएपछि थप उपचारका लागि धुलिखेल अस्पतालमा आउँदै गर्दा उनको जेठ १ गते बाटोमा मृत्यु भएको थियो ।

उनको आरडीटी र पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । हाल नेपालमा ५ सय ७ जना कोरोना संक्रमित हुँदा ३ जनाको निधन भएको छ भने ७० जना निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित