
काठमाडौँ, ८ जेठ । नेपालमा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ ।
गुल्मीका ४१ वर्षीय पुरुष संक्रमितको बिहीबार विहान मृत्यु भएको हो । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भेन्टिलेटरमा उपचाररत उनको बिहीबार बिहान ८ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश ५ का सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पुष्टि गरेका हुन् ।
उनी गुल्मीको मदाने गाउँपालिका ६ का पुरुष हुन् । पेशाले शिक्षक उनको परीक्षणपछि उपचारका लागि क्रिमसन अस्पतालमा उपचाररत थिए ।
उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।
सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
यसअघि एक महिला र पुरुषको कोरोनाका कारण निधन भइसकेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ भने निको हुनेको संख्या ४६ छ ।















प्रतिक्रिया