बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना भाइरस जितेका ढकालका यस्ता छन् ‘कोरोना जित्न सकिने’ १७ टिप्स

यो भाइरल लाग्दाको सामान्य भाइरस जस्तै हो

भेषराज ढकाल २०७७ जेठ ८ गते १०:२१

मेरो नाम भेषराज ढकाल हो ।  घर तनहुँ जिल्ला भिमाद नगरपालिका–८ हाल १९ वर्षदेखि युएई आबुधाबीको अल अहेल्या अस्पतालमा कार्यरत छु ।

विश्वभरि फैलिएको महामारी कोरोना भाइरसको संक्रमणले मेरो कर्मभूमीलाई पनि छोडेको छैन । मेरो अस्पतालमा ड्युटी भएकोले विदा थिएन र नियमित काममा गईरहेको थिएँ । काममा रहँदा धेरै मानिसहरूसँग सम्पर्क हुने, भेटघाट गर्नुपर्ने भएकोले विशेष सावधानी अपनाइरहेकै थिएँ । सावधानी अपनाउँदा अपनाउँदै पनि मलाई संक्रमण भएको पत्तै भएन । केही दिनदेखि सामान्य अस्वस्थ महसुस भएपछि तातोपानी पिउने, सिटामोल खाने गरिरहेको थिए । तर त्यति गर्दा पनि ज्वरो आउने, घाटी दुख्ने, शरिरमा तागत नभएर कमजोर अनुभव हुने र आखा पोल्ने हुन थाल्यो ।

त्यसपछि अप्रिल २१ तारिखका दिन चेक गराउन भनेर अस्पताल गएँ । अस्पतालले कोभिड–१९को लागि स्वाव पनि लिएर १४ दिन होम क्वारेन्टाइनमा बस्नु भनेर विदा लेखिदियो ।

फर्केर घरमा अलग्गै बस्न थालें, कम्पनीको मेनेजरलाई पनि जानकारी गराएँ । त्यसको ३ दिनपछि अबुधावीको स्वास्थ्य विभागबाट फोन आयो र मेरो रिपोर्ट पोजेटिभ आएको जानकारी गरायो । एकछिन त अकल्पनीय नतिजाले केही सोच्नै सकिन । तर कमजोर भएर रोगसँग लड्न सकिंदैन भन्ने लागेर आफैंलाई सकारात्मक बनाएँ ।

मेरो परिवार पनि सँगै भएकोले उनको साथ र हौसलाले मलाई थप आत्मबल बढायो । यो सामन्य रुघा खोकी जस्तै हो यसलाई सजिलै जित्न सक्छु भन्ने आत्मविश्वास लिएँ । अनि घरमा बुबा, छोराहरू आफन्तलाई खबर गरेर मलाई कोरना भाईरस पोजेटिभ देखायो । म हस्पिटल भर्ना हुन जाँदैछु, मेरो स्वास्थ्य सामान्य छ केही चिन्ता नलिनु भने र यता मिसेसले समान तयार पारिदिईन र सुटेकस लिएर हस्पिटल भर्ना हुन गएँ । म अस्पतालको कर्मचारी नै भएकोले आइसोलेसन बेड पाउन थप सहज पनि भयो ।

४ दिन (२४–२८ अप्रिल ) सम्म अस्पताल बसेर सबै चेकजाँच गरेर स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएपछि कम्पनीले व्यवस्था गरेको क्वारेन्टाइनमा अस्पतालको एम्बुलेन्स नै लग्यो । अस्पताल बसुञ्जेल र क्वारेन्टाइनमा समेत एकदमै केयर पाएँ, आफ्नै घर परिवार सँगै बसे जस्तो अनुभव भएको थियो ।

मेरो अनुभबमा बास्तबमा कोरोना भाईरस भाईरल रुघा लाग्दा लाग्ने भाईरस जस्तै सामान्य भाईरस हो । नेपालीमा भनिन्छ नी बनको बाघले खाओस नखाओस मनको बाघले खाईसक्यो त्यस्तै कोरोना लाग्यो भन्दैमा मरिन्छ भन्ने होईन, डराऊन पर्दैन आत्मबल बलियो बनाएर राम्रोसँग ध्यान दिएमा कोरोनालाई सहजै जित्न सकिन्छ ।

यो भाईरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै संक्रमण हुने भएर अलि बढी सतर्क हुनुपर्ने हो । मेरो शरिरमा पनि यो भाईरस कतैबाट संक्रमण भई पोजेटिभ देखिएको थियो ।

मानव शरिरमा भाईरस संक्रमण हुँदा व्यक्तिअनुसार फरक–फरक लक्षण देखिन्छ। मैले म जस्तै कोरोना संक्रमण भएर क्वारेन्टाइनमा बस्ने अरु बिरामीसँग सोध्दा फरक–फरक लक्षण भएको पाएको छु । यो भाईरसले शरिरमा रोगप्रतिरोधात्मक क्षमता भएका सामान्य स्वास्थ्य भएकालाई खासै समस्या बनाउँदैन, जसको शरिर कमजोर छ, पहिला निमोनियाको समस्या, मुटुको समस्या, प्रेसरको समस्या, सुगरको समस्या, दमको समस्या र मृगौलाको समस्या भएकालाई यसले साहैं समस्या बनाऊन सक्छ । त्यसैले यो भाईरसबाट बिजय प्राप्त गर्नका लागि आवश्यक पर्ने प्रोटिनयुक्त खाने कुराहरू खानु पर्छ ।

संक्रमण भए पनि निम्न कुराहरूमा ध्यान दिन सके चाडैं रोगबाट सहजै विजयी हुन सकिन्छ ।

१. दिनमा कम्तीमा ४ लिटर देखि ६ लिटरसम्म तातो पानी पिऊने, सार्बजनिक स्थलमा भौतिक दूरी कायम राख्ने, नियमित मास्क, सानिटाईजर, ग्लोब्स्को प्रयोग गर्ने

२. मिल्छ भने दैनिक बिहान ८–१० बजे भित्र कम्तीमा आधा घण्टा घाममा बस्ने यसो गर्दा शरिरलाई भिटामिन डी प्राप्त हुन्छ, अनावश्यक बाहिर ननिस्कने ।

३. सकभर आफ्नो काम आफैं गर्ने

४. नर्मल रुम तापक्रममा बस्ने

५. दैनिक ४, ५ पटक पानी उमालेर बाफ लिने

६. सकभर एयर कन्डिसनको नजिक नबस्ने

७. अत्याधिक रुपमा भिटामिन सी पाऊने फलफुलहरू जस्तै (आँप, सुन्तला, एभुकाडो, कागती, मेवा) खाने, भिटामिन सी क्यापसुल पनि लिन सकिन्छ

८. आत्मा बल बढाउने, आफन्तसँग निरन्तर सम्पर्कमा रहने

९. दैनिक नर्मल शारिरीक व्यायाम गर्ने ।

१०. जिरा, मरिच, अदुवा पानी, तातो पानीमा मह र कागती राखेर पिऊने, दैनिक ४–५ पिस काजु, बदाम, जस्ता पौस्टिक खाने कुरा खाने, समय समयमा तातो सुप पिउने, खाना खाँदा अनिवार्य २ पोटी लसुन खाने र झोलिलो खानेकुरामा बढी जोड दिने

११. मादक पदार्थ साथै चुरोट तथा सुर्तीजन्य बस्तु सेवन नगर्ने

१२. खोकी लागेमा कफ सिरफ पिऊने, ज्वोरो आएमा खाना खाएर सिटामोल लिने

१३. एकान्तमा बस्ने अरु मान्छेको नजिक नजाने, खोकी वा हाछ्छियु लागेमा रुमालले कभर गरेर गर्ने

१४. नाक र मुखबाट लामो सास लिएर केही समय ५–६ सेकेन्ड रोकेर बिस्तारै सास फाल्ने, यसो गर्दा फोक्सोलाई राम्रो हुन्छ । सुत्दा खेरी घोप्टो वा कोल्टो परेर सुत्ने यसरी सुत्दा फोक्सोलाई सहयोग पुग्छ ।

१५. घाँटी दुखेको छ भने तातो पानीमा नुन राखेर सहन सक्ने गरी कुल्ला गर्ने, यसो गर्दा घाँटी दुख्न कम हुन्छ र  र घाटीमा भएका  ब्याक्टेरिया मर्छ ।

१६. बिहान उठेर फ्रेस भए पछि १ गिलास तातो पानीमा २ चम्चा मह र कागती निचोर पिऊने, चिसो खाने कुरा, फ्रोजन आईटम, मोही र दही नखाने ।

१७. क्वारेन्टाईनमा बस्दा आफुलाई मनपर्ने, भुलाउने कमेडी फिल्म हेर्ने, आफन्तसँग हासीखुसी कुरा गर्ने, आफूलाई व्यस्त राख्दा तनाब कम हुन्छ ।

यसरी दैनिक रुपमा माथि भनिएका गाईडलाईनहरू फलो गर्नुभयो भने कोरोना पोजेटिभ आएको १०–१४ दिन सम्मनेगेटिभ हुन्छ । कहिलेकाहीँ कोरना संक्रमण भएको व्यक्तीलाई छाती दुख्ने, स्वास लिन गाह्रो हुन सक्छ । यस्तो समस्या आएमा तुरुन्त नजिकको हस्पिटलमा सम्पर्क गरेर डाक्टरसँग परामर्श लिनुपर्छ ।

कोरोना संक्रमण भएका मान्छेलाई परिवारले, साथीहरूले घृणा होईन माया र हौसला दिनुहोस् तपाईको माया र हौसलाले अबश्य तपाईको आफन्त, साथीले कोरोनासँगको लडाइँ जित्नु हुनेछ ।

मैले सबैको माया, हौसला र साथ पाएर १२औं दिनमा पहिलो र १४औं दिनमा दोस्रो टेस्ट पनि नेगेटिभ आएपछि कोरोनालाई जितेको छु । र यो सँगै आफ्नो नियमित अफिस जान थालेको छु । कसैले थप सल्लाह वा अनुभव लिन चाहनुहुन्छ भने मलाई +971503231985 मा सम्पर्क गर्न पनि सक्नुहुनेछ । सुरक्षित बस्नुहोस् ।

प्रतिक्रिया
सम्बन्धित