शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सरकारकाे लापरबाहीले काेराेना संक्रमितकाे संख्या बढ्याेः कांग्रेस नेता महर्जन

दैनिक नेपाल २०७७ जेठ ६ गते ९:२९

ललितपुर, ६ जेठ । काठमाडौं उपत्यकासहित तराईका सबै जिल्लाहरूमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले स्वास्थ्य सुरक्षाका लागि टोलबासीहरू आफै सर्तक हुनुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक सन्जालमार्फत कांग्रेसको खेलकुद विभागका सदस्य सचिव समेत रहेका महर्जनले सरकारको भर पर्दा जनता झन् जोखिममा पर्न थालेको बताए । ‘यो सरकारको भर नपरौँ । आफ्नो टोलबासीको सुरक्षा, टोलबासी मिलेर गरौँ’, उनले भने, ‘अपरिचित व्यक्तिलाई प्रवेश निषेध गरौँ ।’

महर्जनले ललितपुर, काठमाडौं र भक्तपुरमा टोलबासीहरूले स्थानीय प्रशासन, नगरपालिका र सुरक्षा निकायहरूसँग समन्वय गरेर सचेतना अभियान चलाउनुपर्ने बताए । उनले नयाँ व्यक्ति आफ्नो टोलमा आएको थाहा पाउनेवित्तिकै सबैले च्याप्प छोपेर क्वारेन्टाइनमा आफैले लगेर परीक्षणदेखि सबै व्यवस्था गर्नुपर्ने बताएका छन् ।

‘यो सरकारले केही गर्दैन । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको एक्लो प्रयासले कोरोना रोक्न गाह्रो भइसक्यो’, उनले भने, ‘अब हामी सबै स्थानीय प्रशासनको समन्वयमा खटिनुपर्छ । ३–४ जनाको युवाहरूको समूह बनाइ सामाजिक दुरी कायम गरेर टोलको सुरक्षा गर्नुपर्ने बेला आइसक्यो ।’

कांग्रेसका युवा नेता महर्जनले भारतसँगको खुला सिमानाबाट नेपाली नागरिकहरू जथाभावी प्रवेश गरेको भन्दै उनीहरूलाई व्यवस्थित रुपमा प्रवेश गर्न दिनुपर्ने बताए । सुरक्षाका लागि सडकमा खटिएका सुरक्षाकर्मीहरू झन् जोखिममा रहेको उनको भनाइ छ ।

‘भारतबाट आफ्नो देश आउनेलाई रोक्न मिल्दैन’, उनले भने, ‘भारतले आफ्नो भूमिमा ती नेपालीहरूको कोरोना भाइरसको परीक्षण गरेर मात्रै नेपाल पठाउनुपर्छ ।’

विश्व स्वास्थ्य संगठनको नियमलाई भारतले उल्लंघन गरिरहेको भन्दै कांग्रेसका युवा नेता महर्जनले भने, ‘नेपालमा जोखिम बढ्नु भनेको भारतलाई पनि जोखिम हुनु हो । भारतले हेलचेक्र्याइ नगरोस् ।’

भारतले हेलचेक्र्याइ गरेपनि नेपालले आफ्ना नागरिकहरूको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्ने उनले बताए । ‘सिमानामा रोक्दा झन् लुकेर नेपाल प्रवेश गर्ने बढ्ने हुँदा समस्या हुन्छ’, उनले भने, ‘मुख्य नाकाबाटै प्रवेश गर्न दिउँ । सोही ठाउँमा स्वास्थ्य चेक गरेर क्वारेन्टाइनमा राखौँ । परीक्षण गरेर घर जाने व्यवस्था गरौँ ।’

सरकारले अहिलेसम्म कोरोना भाइरसको संक्रमण रोकथाममा गरेको कार्य चित्त बुझ्दो नरहेको उनले बताए । ‘स्वास्थ्य सामग्री खरिदमै घोटाला भयो । समयमा चीनबाट सामान आउन सकेन’, उनले भने, ‘यो सरकारबाट कोरोना रोकथाम र उपचार हुन्छ भनेर जनताले आशा मार्न थालेका छन् ।’

बाँकेको नरैनापुरमा भारतबाट आएका युवकको मृत्यु भएको प्रशंग कोट्याउँदै कांग्रेसका युवा नेता महर्जनले भने, ‘मान्छे मरेपछि कोरोनाको परीक्षण भएको छ । ती युवकलाई लिन एम्बुलेन्स आएन । समयमा उपचार हुन सकेन ।’ महर्जनले ती युवकको दाहासंस्कारमा पनि हेलचेक्र्याइ भएको भन्दै आक्रोश पोखे ।

कोभिड १९ रोकथाम उच्चस्तरीय समितिले काम गर्नुभन्दा पनि बैठक गरेर दिन कटाउने गरेको आरोप लगाए । उनले स्वास्थ्य मन्त्रालयले पनि जिम्मेवारीअनुसार काम गर्न नसकेको बताए ।

लकडाउन भएको दुई महिना भइसक्दा पनि मजदुर र अति निम्न वर्ग पीडामा रहेको भन्दै महर्जनले सरकारले ती जनताको समस्यामा ध्यान नदिएको आरोप लगाए । उनले राहतका नाममा ठालु, हुनेखाने, पहुँचवालाले मात्रै पाएको भन्दै लक्षित समूहसम्म राहत नपुगेको बताए ।

प्रतिक्रिया
सम्बन्धित