बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

१२ बर्ष कान्छा प्रेमीसँग मिलेर मीनाले रचेको पति हत्याको दर्दनाक कथा

दैनिक नेपाल २०७७ जेठ ५ गते १२:१८

मोरङ, ५ जेठ । बिहेपछिको प्रेमले निक्कै अपराधका घटनालाई नेपाली समाजमा नंग्याएको छ । यस्तै अपराधको एउटा जड कोरोना महामारीकाबीच मोरङको बिराटनगरमा पनि भएको छ ।

नाटकीय देखाउन खोजिएको तर लुक्न नसकेको हत्या प्रकरणमा पत्नीको योजना र उनका १२ बर्ष कान्छा प्रेमीको संलग्नता पुष्टि हुने प्रमाण जिल्ला प्रहरी कार्यालय मोरङले तयार पारेको छ ।

कथा हो, शनिबार राती विराटनगर–१० मा औषधिको डिलर राखेका सुनसरी इटहरी–१२ खनारका ३३ बर्षिय देवीप्रसाद दुलालको हत्याको । यस प्रकरणमा उनकी पत्नी ३३ बर्षिया मीना श्रेष्ठ दुलाल र उनीभन्दा १२ बर्ष कान्छा प्रेमी सिरहाको लहान–११ का २१ बर्षिय ब्रम्हदेव साहको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको अनुसन्धानले खुलाएको छ । दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

श्रेष्ठ र साहको प्रेम कसरी भयो ?

मृतक दुलालले विराटनगर–१० मा घर भाडामा लिँदै देवी माँ पाथीभरा फर्मा औषधि डिलर सञ्चालन गरेका थिए । त्यही डिलरमा चार वर्षदेखि काम गर्थे हत्यामा संलग्न भनिएका साह । त्यस क्रममा श्रीमतीसँग हिमचिम बढेको चाल पाएपछि पाँच महिना अघि दुलालले उनलाई कामबाट निकालिदिएका थिए ।

कामबाट निकालिदिए पनि मीनासँगको उनको सम्पर्क निरन्तर रहेको अनुसन्धानका क्रममा खुलेको छ । दुलालले पत्नी कामदारसँग नै प्रेममा रहेको चाल पाएपछि घरझगडा बढेको थियो । आफूहरूको प्रेममा बाधक बनेको भन्दै मीनाले ब्रह्मदेवसँग सल्लाह गरेर गत शुक्रबार पतिको हत्या योजना बनाएको अनुसन्धानका क्रममा आएका बयानले प्रष्ट पारेको छ । एक बर्षमा नै श्रेष्ठ र साहबीच गहिरो प्रेम सम्बन्ध स्थापित भएको थियो ।

यसरी गरियो हत्या 

पूर्वयोजनाअनुसार नै दुई जनाले हातमा पञ्जा लगाउँदै घाँटीमा प्लाष्टिकको डोरीले कसेर हत्या गरेको एसपी अधिकारीको भनाइ छ । शनिबार राति दुलालको घरमा औषधि व्यावसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । उनीहरू राति ९ बजे त्यहाँबाट निस्किएका थिए । त्यसपछि राति ११ बजे मीनाले साहलाई बोलाएर दुई जनाले मिलेर दुलालको हत्या गरेको प्रहरीको भनाइ छ ।

साहले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेको थाहा पाएर प्रतिकार गर्ने क्रममा झ्यालमा ठोक्किएर देवीप्रसादको बायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ ।

सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पु¥याइएको थियो । अस्पताल पुर्याउनसाथ मृत घोषित गर्दै चिकित्सकले मृत्युलाई स्वभाविक मान्न नसकिने जनाएपछि घटनाका बारेमा अनुसन्धान थालिएको थियो ।

दुलालको नाक, हात, घाँटी र वायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव थियो । उनी सुतेको ओछ्यानमा रगत लतपतिएको थियो भने घाँटीमा डोरीले कसेको डाम थियो । प्रहरी नियन्त्रणमा रहेकी मीनाले सुरुमा भने पतिलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृत्यु भएको हुन सक्ने भन्दै घटनाको वास्तविकता लुकाएर ढाँट्ने प्रयास गरेका थिए ।

सुतेको ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै मीनाले नै केही व्यक्तिको सहयोगमा पतिलाई उपचारका लागि भनेर अस्पताल पु¥याएकी थिइन् । हत्यापछि बिरामी भएको देखाउन अस्पताल लगेर घटनालाई स्वभाविक मृत्यु भन्ने बनाउन खोजेको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झाडीबाट फेला पारेको छ । घटनाको प्रमाण नष्ट बनाउन हत्यामा प्रयोग गरिएका सामान घटनास्थलबाट लगेर अन्यत्र फ्यालिएको पाइएको प्रहरीको भनाइ छ । साह भने बुढाथोकी फार्मेसीमा कार्यरत थिए ।

प्रतिक्रिया
सम्बन्धित