शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

झापाको दमक नगरपालिकाले राहतको सट्टा रोजगारी दिने

दैनिक नेपाल २०७७ जेठ ४ गते १५:३१

दमक, ४ जेठ । जारी बन्दाबन्दीका कारण विपन्न वर्गको जीविकोपार्जनमा कठिनाइ भएपछि झापाको दमक नगरपालिकाले रोजगारी कार्यक्रम ल्याएको छ ।

नगरपालिकाले राहतका विकल्पमा एक परिवार, एक रोजगारी कार्यक्रम शुरु गरेको हो ।

सो नगरपालिकाको वडा नं ३ मा करिब ६०० परिवारलाई लक्षित गरी उक्त कार्यक्रम शुरु गरिएको वडाध्यक्ष नवीन बरालले जानकारी दिनुभयो ।

कार्यक्रमको पहिलो दिन शनिबार ८५ जना रोजगारीमा संलग्न भएको थिए । उनीहरुलाई सोही वडाको हम्सेदुम्से सामुदायिक वनसँगको सहकार्यमा रोजगारी प्रदान गरिँदै आएको उहाँले बताउनुभयो ।

दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई लक्षित गरिएको कार्यक्रमअनुसार उक्त सामुदायिक वन क्षेत्रका काममा परिचालन गरिएको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार वन क्षेत्रमा अहिले वृक्षरोपण गर्ने समय भएकाले वन क्षेत्रमा रहेको झाडी फाँड्ने, आँप बगान गोड्ने, खाल्डो खन्ने कार्य शुरु गरिएको छ ।

पहिलो चरणमा करिब ६०० परिवारलाई रोजगारी दिइने तयारी गरिएको र अन्य क्षेत्रमा समेत त्यसरी नै रोजगारीको व्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो । स्वास्थ्य सुरक्षासहित सामाजिक दूरी कायम हुने गरी काम शुरु गरिएको हो ।

दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका एक परिवारलाई दुई दिन रोजगारी दिइने तथा त्यस्ता श्रमिकलाई सरकारले तोकेको दैनिक ज्याला वा खाद्यान्न दिइने वडासचिव सन्दीप सुवेदीले जानकारी दिनुभयो ।

नगरपालिकाले बन्दाबन्दीका क्रममा श्रम गर्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई भने खाद्यान्न राहत नै प्रदान गरिने छ ।

सो सामुदायिक वनका अध्यक्ष हिमालय दाहालका अनुसार श्रमिकलाई सामाजिक दूरी कायम गराउन वन समिति र वडा कार्यालयले निगरानी गर्न हरेक टोलीमा एक जना स्वयंसेवकसमेत खटाइएको छ ।

नगरपालिकाले आगामी वर्षदेखि यही मोडलको कार्यक्रमलाई योजना बनाएर सबै वडामा विस्तार गर्ने योजना रहेको नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले जानकारी दिनुभयो । उहाँले वडा नं ३ को कार्यक्रमको नतिजाले अन्य वडामा पनि विस्तारमा सहयोग पुग्ने बताउनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित