बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भारतबाट फर्किएका ३३ क्वारेन्टाइनमा

दैनिक नेपाल २०७७ जेठ ४ गते १५:०९

सांकेतिक तस्वीर

भद्रपुर, ४ जेठ । भारतको मुम्बइबाट फर्किएका ३३ नेपालीलाई झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । तीन दिनअघि पाँचदेखि १० जनासम्मको समूह बनाइ उनीहरु केचना, पाठामारी र घेराबारीबाट राति नेपाल प्रवेश गरेका थिए ।

उनीहरु सबै कचनकवल गाउँपालिकाकै रहेको पालिकाका अध्यक्ष अञ्जार आलामले बताउनुभयो । केचनकवल–२ स्थित पथरिया माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ । रोजगारीका सिलसिलमा उनीहरु मुम्बइ पुगेको अध्यक्ष आलमको भनाइ छ ।

“ट्रेनबाट ल्याएर नेपालीलाई भारतीय एसएसबीले सीमाबाट सजिलै छाडिदिँदोरेहछ”, उहाँले भन्नुभयो, “सीमामा खटिएका सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उनीहरुलाई तत्काल कब्जामा लिएर क्वारेन्टाइनमा राखेका छौँ । आफ्ना नागरिकको सुरक्षा गर्ने दायित्व हाम्रै हो ।”

क्वारेन्टाइनमा राखिएका सबैको स्बाब सङ्कलन गरी परीक्षणका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताउनुभयो ।

अध्यक्ष आलामले भारतको दिल्ली, मुम्बइ, केरेलालगायत स्थानमा १० हजार बढी युवाहरु कचनकवल गाउँपालिकाबाट मात्र रोजगारीका लागि गएको जानकारी दिनुभयो ।

उहाँले सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने नेपालीलाई परिवारसँग घुलमिल नभइ पालिकाले तयार गरेको क्वारेन्टाइनमा आएर बसिदिनसमेत आग्रह गर्नुभएको छ । पालिकाले १५० जना अटाउने सक्ने क्षमताको दुई स्थानमा क्वारेन्टाइन तयार गरेको छ ।

भारतीय सीमावर्ती क्षेत्र पानीट्याङ्की, नक्सलबाडीलगायत क्षेत्रमा अलपत्र परेका ९०० नेपालीलाई सोमबारसम्ममा नेपाल फर्काउने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताउनुभयो ।

उनीहरुलाई स्थानीय तहले नाकामा तयार गरिएको होल्डिङ सेन्टरमा राखेर आरडिटी परीक्षणपछि आ–आफ्ना जिल्ला तथा प्रदेशमा पठाइने व्यवस्था गरिएको उहाँको भनाइ छ । –रासस

प्रतिक्रिया
सम्बन्धित