शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दासढुंगामाथि राजनीति : न बिर्सिन्छन् न छानबिन गर्छन्

दैनिक नेपाल २०७७ जेठ ४ गते ७:५९

काठमाडौं, ४ जेठ । हरेक वर्ष जेठ ३ गते जस्तै यसपालि पनि शनिबार बिहानै नेकपा अध्यक्षहरूको वक्तव्य आयो । तीन पृष्ठ लामो वक्तव्यमा २७ वर्षदेखि भनिँदै आएको ‘कर्मकाण्डी’ कुरा दोहोरियो– मदन भण्डारी र जीवराज आश्रित मारिएको रहस्यमय घटनाको अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्ने ।

पार्टीका नेताहरू पटकपटक सरकारको नेतृत्वमा पुगे, भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति छिन् तर यो घटना, छानबिन र दोषीलाई कारबाही गर्ने भन्ने वक्तव्य र भाषणभन्दा माथि उठेको छैन । बरु चितवनको दासढुंगाको यो घटना र मदन भण्डारीको व्यक्तित्व नेकपाका नेताहरूलाई राजनीति गर्ने बलियो हतियार भएको छ ।

भण्डारीले नै नेतृत्व गरेको तत्कालीन एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली (दुई पटक) प्रधानमन्त्री भए । अहिले भण्डारीको प्रखर अनुयायीका रूपमा उदाएका तत्कालीन माओवादीका पुष्पकमल दाहाल दुई पटक प्रधानमन्त्री बने । माओवादीमै रहँदा बाबुराम भट्टराई पनि प्रधानमन्त्री भए । तर कुनै बेलाका चर्चित कम्युनिस्ट नेताको त्यो दुर्घटनाको रहस्य पत्ता लागेन ।

तत्कालीन एमालेका खोटाङ जिल्ला सचिव एवं राजनीतिक विश्लेषक हरि रोकाका अनुसार दासढुंगा दुर्घटनाबारे छानबिन गर्न बनेको ओली नेतृत्वको आयोगको प्रतिवेदन नेतृत्वले लामो समयसम्म सार्वजनिक गरेको थिएन । ‘हामीले ०५१ मा जनकपुर र ०५३ मा पाल्पामा भएको पार्टीको केन्द्रीय कमिटीको विस्तारित बैठकमा प्रतिवेदन किन आएन भनेर सोधेका थियौं,’ रोकाले कान्तिपुरलाई सुनाए, ‘त्यसको जवाफ महासचिव माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य केपी शर्मा ओली दुवैले दिनुभएन ।’

घटना भएको तीन दिनपछि ०५० जेठ ६ गते बनेको ओली आयोगले असार ३ गतेको पार्टी केन्द्रीय कमिटी बैठकमा षड्यन्त्रपूर्ण किसिमले दासढुंगा दुर्घटना गराइएको भन्दै पेस गरेको प्रतिवेदन अहिले सार्वजनिक नै छ । पार्टी पंक्तिभित्र पनि संशय के छ भने यस्तो प्रतिवेदन तयार पारेको १८ महिनापछि ०५१ मंसिरमा बनेको एमाले सरकारको गृहमन्त्री हुँदा ओलीले यो विषयको छानबिन किन अघि बढाएनन् ? ‘हामीले पनि त्यतिबेलै यही प्रश्न सोधेका थियौं तर जवाफ पाएनौं,’ विश्लेषक रोकाले भने ।

घटनाको एकमात्रै विश्वासिलो प्रमाण चालक अमर लामा थिए । घटनाबारे अध्ययन गर्न बनेको ओली र तत्कालीन प्रतिनिधिसभा सदस्य पद्मरत्न तुलाधार संयोजकत्वका दुई छुट्टाछुट्टै समितिले शंकाको सुई उनीतिर पनि घुमाएका थिए भने अरू दुई सरकारी आयोगले लामालाई निर्दाेष भनेका थिए । तर लामाको तत्कालीन माओवादीले हत्या गरेपछि घटना थप रहस्यपूर्ण बन्यो । ‘लामालाई ०६० साउन ११ गते दिउँसो ३ बजे कीर्तिपुर नगरपालिका–११ नयाँबजारमा गोली हानी हत्या गरे,’ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनमा छ, ‘सोही दिन दिउँसो १ बजे लामालाई माओवादीले कालिकास्थानबाट अपहरण गरी लगेका थिए, अपहरणपछि ट्याक्सीमा लगेका पीडितलाई कीर्तिपुरकै पीपलबोटमा उतारी लखेट्दै दुई सय मिटर पर नयाँबजार पुगेपछि गोली हानेका थिए ।’ त्यतिखेर माओवादीले हत्याको जिम्मा लिँदै बाटो–बाटोमा पर्चा छोडेको थियो ।

लामाको हत्यापछि दासढुंगा दुर्घटना षड्यन्त्रपूर्ण थियो भनेर उठाइँदै आएको सवाल झन् बलियो बन्यो तर जवाफ कमजोर । ०६० को दशक नेपाली राजनीति बढ्तै उतारचढावमय भयो । राजा हटाएर गणतन्त्र ल्याउने अभियानमा नेपालका राजनीतिक दलहरू एकताबद्ध भए । ०६० देखि ०७० सालसम्म आइपुग्दा भण्डारीको पार्टी एमालेले आफू सत्तामा भएकामा घटनाको सत्यतथ्य छानबिन गर्छाैं भनेर विज्ञप्ति निकाल्यो, सत्ताबाहिर हुुँदा छानबिनको माग गर्दै विज्ञप्ति निकाल्यो । स्थायी कमिटी सदस्य अमृतकुमार बोहराको सम्झनामा त्यतिखेरका एमालेजनहरू आफ्नै नेतृत्वमा स्थायी र बलियो सरकार बनेपछि सत्यतथ्य पत्ता लगाउने गरी अनुसन्धान गरेर सत्यतथ्य सार्वजनिक गर्छाैं भन्थे । मदनकी पत्नी विद्यादेवी भण्डारीसमेत संविधान बनेर स्थिर सरकार आएपछि घटनाको सत्यतथ्य पत्ता लगाउनुपर्ने पक्षमै थिइन् । तर मुलुकमा संविधान बनेकै ६ वर्ष भइसक्यो । संविधान बनिसकेपछि राष्ट्रपति भएकी भण्डारीले दोस्रो कार्यकालको दोस्रो वर्ष पार गरिसकेकी छन् । स्थिर सरकारका प्रमुख मदन भण्डारीको विचारमा विश्वास राख्ने ओली नै छन् । भण्डारीलाई महान् मित्र ठान्ने दाहाल र उनै ओलीको संयुक्त नेतृत्वमा नेकपा सञ्चालन भइरहेको छ ।

दासढुंगा दुर्घटनाबारे चालक लामाले मुख नखोलेझैं लामाको हत्याबारे तत्कालीन माओवादी पनि मौनप्राय: देखिन्छ । यो पृष्ठभूमिमा नेकपाका अध्यक्षद्वयले संयुक्त विज्ञप्ति निकालेर भण्डारीको सम्झना गरेका छन् र घटनाबारे सत्यतथ्य बुझ्ने वाचा गरेका छन् । तर विज्ञप्तिको भाषा बदलिएको छ । यसअघि आफैंले षड्यन्त्रपूर्ण र रहस्यमय भन्दै आएका नेताहरूले यसपालि त्यसको जिम्मेवारी जनताको काँधमा पनि छाडिदिएका छन् । ‘यी दुई लोकप्रिय नेताहरूको रहस्यमय दासढुंगा जिप दुर्घटनामा दु:खद निधन भएको आज २७ वर्ष बितेको छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुनसकेको छैन,’ अध्यक्षद्वयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन्, उनीहरूमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन् ।’ विनु सुवेदीले कान्तिपुर दैनिकमा समाचार लेखेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित