शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपालमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु, संक्रमित २८१ पुगे

दैनिक नेपाल २०७७ जेठ ३ गते २१:०८

काठमाडौँ, ३ जेठ । नेपालमा पहिलोपटक कोरोनाभाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्करी महिलाको मृत्यु कोरोनाका कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती महिलाको मृत्यु कोरोनाको कारणले भएको पुष्टि गरेको छ ।

उनको वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुवैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।

तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप अनुसन्धान तथा परीक्षण गरी कोभिड १९ बाटै उनको मृत्यु भएको पुष्टि गरेको हो ।

ति महिलाको सम्बन्धित क्षेत्रहरु सिल गरिएको छ । भोलि विज्ञ टोलीद्धारा महिलासँग सम्पर्कमा आएकाहरुको परीक्षण गरिने जनाइएको छ।

त्यस्तै, मन्त्रालयले थप २ जनामा कोरोना देखिएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ । कोभिड १९ का कारण पहिलो मृत्यु भएको छ । ३६ जना निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित