बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कविता : कस्तो मेरो देश नेपाल

टीकार्जन सिवाकोटी २०७७ जेठ ३ गते १६:३६

-टीकार्जन सिवाकोटी

कस्तो मेरो देश नेपाल

राजनीति सेवा नभएर पेशा र व्यापार भएपछि,
कम्युनिष्टहरु पथभ्रष्ट भएर कमाउनिष्ट भएपछि,
सचेत नागरिक पार्टीका झोले बन्दै गएपछि,
समाजको माग एकातिर र आपूर्ति अर्कोतिर भएपछि ।

आधुनिकतामा पहिचान र इतिहास भुल्दै गएपछि,
उज्यालोले प्रकाशको सट्टामा अन्धकार छरेपछि,
अन्धकारले चै उल्टै उज्यालो पार्न खोजेपछि,
रक्षक चै भक्षक अनि भक्षक चै रक्षक बनेपछि ।

विद्वान मुर्ख र मुर्ख चै विद्वानझैँ देखिएपछि,
फेरि विद्वानहरु मौन अनि मुर्खहरु बाठा भएपछि,
पढेका र शिक्षितहरु बेरोजगार र विदेशमा भएपछि,
नपढेका र अशिक्षितहरु रोजगार र स्वदेशमै भएपछि ।

देशमा सुख, शान्ति ,सुरक्षा ,समृद्धी र विकास नभएसी
समाजमा अराजकता, अशान्ति, कलह, द्धन्द भएसी
स्वर्गको एक टुक्रा बन्न सक्ने देश बिस्तारै नर्कतिर गएपछि
मनमा पीर, दुख, छट्पटी, हुटहुटि, वितृष्णा भएपछि ।

प्रतिक्रिया
सम्बन्धित