बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कार्यक्रम प्रस्तोता रवि लामिछानेले गल्ती स्वीकार्नुको कारण

दैनिक नेपाल २०७७ जेठ १ गते १०:२३

काठमाडौं । लक डाउनका बेला १० जना कलाकारसहित आफू पनि सहभागी भएर खाएको खाजाको भिडियो विवादीत भएपछि कार्यक्रम प्रस्तोता रवि लामिछानेले भनेका छन्,‘सामाजिक दूरी अपनाउनुपर्ने थियो, त्यसमा कमजोरी भयो ।’

यद्यपि उनले उक्त भिडियो बाहिर आएपछि आएका अनेकथरी टिप्पणीमा आएको आलोचना जस्तो अवस्था र व्यवाहार नभएको पनि उल्लेख गरेका छन् । तर, सबै आलोचना स्वीकार गर्ने भन्दै अब आइन्दा कोरोना भाइरस (कोभिड–१९)को महामारीमा विश्व स्वास्थ्य संगठन, नेपाल सरकारले जारी गरेको निर्देशनलाई पालना गर्ने पनि बताएका छन् ।

आफ्नो टेलिभिजन कार्यक्रममा लक डाउनका समयमा के गर्ने भन्ने विषयमा आक्रामक र भावुक प्रस्तुती दिएको केही दिनमा नै लामिछाने, उनकी पत्नी निकिता पौडेल, कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, अभिनेत्री पूर्जा शर्मालगायतले खाजा खाएको भिडियो सार्वजनिक भएको थियो ।

खासमा यस्तो समयमा रमाइलो गरेको, टिकटकमा अनेकथरी भिडियो सोही प्रकृतिमा सार्वजनिक भएपछि लामिछानेलगायतको आलोचना भएको थियो । उक्त आलोचनाका क्रममा सो समूहमा सहभागी कतिपयले प्रष्टिकरण दिने वा प्रतिरक्षा गर्ने काम गरे पनि गल्ती भएको भनी स्वीकार गरेका थिएनन् ।

यस विषयमा लामिछानेले लेखेका छन्,‘हामीले आफ्नो घरमा कसैलाई बोलाएर भोज, भतेर वा जमघट गरेका होइनौं । काम पछि, छलफल सकिएपछिको सामान्य खाना हो, साथीले श्रद्धाले पस्केर दिएको खाना। रमाइला साथीहरू भेट्दा र फोटो खिच्दा २ इन्ची बढी जरुर हासियो, गल्तीचाहिँ आवश्यक दूरि कायम गरिएन । भएको यत्ति हो ।’

लामिछानेले यस्तो गल्ती स्वीकार गर्दा पनि कलाकार गिरीले भने पत्रकारकै आलोचना गरेका थिए । उनले सामाजिक काम गरेको नदेख्ने र खाजा खाएको विषयलाई बढी प्रचार गरेको भन्दै कुनै गल्ती नगरिएको दाबी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित