शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोनाका कारण अमेरिकामा मृतकको संख्या ८० हजार नाघ्यो

दैनिक नेपाल २०७७ वैशाख २९ गते १८:२०

-गणेश थापा

क्यालिफोर्निया, २९ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ ।

संक्रमितको संख्यामा समेत उलेख्य मात्रामा बृद्धि भएको छ । अफिसियल डाटाअपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड–१९ को संक्रमणका कारण अमेरिकामा हालसम्म ८० हजार ५ यस बढीको ज्यान गएको छ ।

कोरोना भाइरसका कारण अमेरिकामा करिब १३ लाख ६४ हजार मानिस संक्रमित भएका छन् ।

क्यालिफोर्नियाको स्थानीय समय अनुसार सोमबार विहान ४ ः १५ बजेसम्म संक्रमणबाट अमेरिकाको न्युयोर्कमा सबै भन्दा बढीको ज्यान गएको छ । न्युयोर्कमा ज्यान गुमाउनेको संख्या २७ हजार नजिक पुगेको छ । त्यहाँ संक्रमित हुनेको संख्या पुरै अमेरिकामै सबैभन्दा बढी ३ लाख ४६ हजार माथि रहेको छ ।

यता क्यालिफोर्नियामा पनि मृतको संख्या २ हजार ७ सय १८ नाघेको छ भने झण्डै ६८ हजार मानिसमा संक्रमण देखिएको छ । यसअघि दिनहुँ २ हजार माथिको हाराहारीमा मानिसहरूको मृत्यु हुँदै आएको अमेरिकामा केहीदिन यता कोरोना संक्रमणका कारण ज्यान गुमाउने तथा नयाँ संक्रमित संख्यामा ह्रास आएको छ ।

महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण जनजीवन असामान्य बनिरहेको अमेरिकामा गएको २४ घण्टामा ८ सय ५८ जनाको मृत्यु भएको छ ।

यो संख्या अघिल्लो दिनको तुलनामा केही कम हो । यसैगरी अघिल्ला साताहरूमा दैनिकजसो ३० हजारमाथि नयाँ विरामीहरू थपिरहेकोमा अहिले यो संख्या समेत केही तल झरेको छ ।

२४ घण्टाको अवधिमा यहाँ करीव २० हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूले अमेरिकामा कोभिड– १९ को संक्रमणका २ लाख बढीको मृत्यु हुनसक्ने तथा यसबाट दसौं लाख मानिसमा संक्रमण फैलिन सक्ने चेतावनी दिदै आएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिएयता अमेरिकामा १५ जना नेपालीको मृत्यु भएको छ भने संक्रमित हुने नेपालीको संख्या सयौं छ । अमेरिकाका ५० वटै राज्यमा फैलिएको कोरोनाबाट सवैभन्दा प्रभावित न्युयोर्कमा नेपालीहरूको बाक्लो बसोबास रहेको छ ।

अमेरिकामा संक्रमित नेपाली संख्या १ हजार ५ सय बढी पुगेको विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि लामो समय लाग्नसक्ने विज्ञहरूले बताउदै आएका छन् । यसैबीच ग्रिन कार्ड, डिभि लगायत केही इमिग्रेसन सम्बन्धीका कामकारवाहीहरू भने केही समयका लागि अस्थायी रूपमा सरकारले स्थगित गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित