काठमाडाैं, २६ वैशाख । त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र केन्द्रीय विभाग प्रथम सेमेस्टरका विद्यार्थी आकाश रिजाल शैक्षिक संस्था बन्द भएपछि आफ्नै घर पर्वतको फलेवास नगरपालिका–९ भँगरा फर्किए । लकडाउन थपिँदै जाँदा अनलाइन कक्षा सुरु भएको छ ।
फोनमा कुरा गर्नसमेत समस्या हुने भँगरामा मोबाइल डाटा नचलेपछि रिजाल अनलाइन कक्षामा सहभागी हुन वाइफाईको खोजी गर्दै दैनिक तीन घन्टाभन्दा बढी हिँडेर वडा कार्यालय आवतजावत गरिरहेका छन् । ‘वडा कार्यालयमा राहत बाँड्ने र मानिसको भिड बढेको छ, अब त त्यहाँ गएर पनि पढ्न पाइँदैन जस्तो लाग्छ,’ उनले भने ।
काठमाडौंमा बसेर पब्लिक युथ क्याम्पसमा एमबिएस सुरु गरेका दोलखा भीमेश्वर नगरपालिका–४ जिलुका जीवनकुमार मगराती पैसा सकिएर लकडाउन एक महिना पुगेपछि घर फर्किए । मोबाइलबाट डाटा प्रयोग गरेर अनलाइन कक्षा लिने योजना बनाएका मगराती घरमा डाटाले काम नगरेपछि आधा घन्टा हिँडेर मंगलबार घरमाथिको डाँडामा पुगे । आफूले पढेको विद्यालयमा वाइफाई भएको थाहा पाएर अनलाइन कक्षामा सहभागिता जनाउन खोजेका मगराती त्यहाँ पनि वाइफाई र डाटाले समेत काम नगरेपछि निराश थिए । ‘काठमाडौंमा पैसा सकिएकाले बस्न समस्या भयो, गाउँमा आएर पढ्न समस्या भयो,’ उनले भने ।
०००
काठमाडौंमा मास्टर्स डिग्रीमा अध्ययनरत सागर श्रेष्ठको पनि अवस्था उस्तै छ । यतिवेला आफ्नो घर गोरखाको पालुङटार–८ बिरुवाटार पुगेका श्रेष्ठ अनलाइन कक्षा सुरु हुन थालेपछि घरनजिकैको चौरमा पुग्छन् । ‘घरबाहिर चौरमा निस्कँदा पनि कहिले डाटा चल्छ त कहिले चल्दैन,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘चौरमा उभिएर पढ्दा अरू मानिस पनि हुन्छन्, यसले अप्ठ्यारो हुने रहेछ ।’
०००
यी त उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका प्रतिनिधि घटना मात्र हुन् । विश्वविद्यालय र क्याम्पसले सञ्चालन गरेका मास्टर्स र त्यो भन्दा माथिको अनलाइन पठनपाठनमा यस्तै धेरै समस्या विद्यार्थीले भोग्नुपरेको छ । कतिपय विद्यार्थीले अनलाइनमा जोडिने प्रयास गरे पनि ५० प्रतिशतभन्दा बढी विद्यार्थी त्यसको पहुँचमा छैनन् । अझ तलका कक्षामा झनै समस्या छ । त्रिवि साथै काठमाडौं र अरू विश्वविद्यालयले पनि अनलाइन कक्षा सुरु गरेका छन् । सीमित कोटा निर्धारण गरेर सञ्चालन भएकाबाहेक स्नातक तहका कार्यक्रममा पाँचदेखि १० प्रतिशतको मात्र उपस्थिति छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार बाल विकासदेखि कक्षा १२ सम्म ८१ लाख ८८ हजार, सिटिइभिटीको प्रमाणपत्र र डिप्लोमा तहमा ७५ हजार र उच्च शिक्षामा तीन लाख ७१ हजार विद्यार्थी छन् ।
शंकरदेव क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य पहिलेदेखि वाइफाई, ल्यापटप आवश्यक भएका विषयका विद्यार्थीलाई अनलाइन कक्षामा समस्या नभए पनि अरू विषय पढ्न र पढाउन समस्या भएको बताउँछन् । डाटा प्रयोग गरेर सञ्चालन भएका कक्षामा पनि समस्या भएको उनले बताए । विद्यार्थी अनलाइनबाट पढेर सिक्नेभन्दा पनि पहुँचमा पुग्नका लागि खेतबारी र डाँडाकाँडा दौडधुप गर्नुपर्ने समस्यामा रहेको उनको भनाइ छ ।
पब्लिक युथ क्याम्पस प्रमुख बलराम थापाले अनलाइन कक्षा प्रभावकारी बनाउन धेरै प्रयास गरे पनि समस्या भएको बताए । ‘विद्यार्थीलाई इन्टरनेटको पहुँच नहुँदा अनलाइन आउनै समस्या छ, अनलाइनमा आएका पनि भरपर्दो सेवा नहुँदा कतै राम्रोसँग नसुन्ने, घरबाट बाहिर निस्कनुपर्नेलगायत समस्याले प्रभावकारी हुन सकेको छैन,’ उनले भने । त्रिविका कतिपय क्याम्पसले मास्टर्स डिग्रीकै कक्षा पनि सुरु गर्न सकेका छैनन् । त्रिविका केही केन्द्रीय विभागले आधा विद्यार्थी सम्पर्कमा नआएपछि अनलाइनबाट अनौपचारिक कक्षा मात्र सञ्चालन गरेका छन् । लकडाउनपछि मात्र अनलाइनको तयारी भएकाले अध्ययनका लागि विद्यार्थीले तयारी गर्न नपाएको उनको भनाइ छ । भवानीश्वर गाैतमले नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया