३ कार्तिक २०८३, मंगलबार

भारतबाट ४२ दिनमा पाँच करोडको तरकारी भित्रियो, नेपालगन्जको उत्पादन खेतमै नष्ट

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २४ वैशाख । लकडाउन भएयताका ४२ दिनमा नेपालगन्ज नाकाबाट पाँच करोड दुई लाखको भारतीय तरकारी नेपाल भित्रिएको छ । तर, नेपालगन्जआसपासकै गाउँका किसान आफ्नो बारीमा उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन नसकेर नष्ट गर्न बाध्य छन् ।

खजुरा गाउँपालिका–२ सी–गाउँका किसान गेनालाल मुराऊले १० हेक्टरमा रोपेको गोलभेँडा गाईबस्तुलाई खुवाएका छन् । ‘लकडाउनले बजार लैजान सक्ने अवस्था भएन । घरमा खरिद गर्न आउँदा भिडभाड लाग्ने भएकाले गोलभेँडा रोपेको बारीमा गाईगोरु र भैँसी चरायौँ,’ उनले बाध्यता सुनाए । गत वर्ष यही सिजनमा उनको बारीमा प्रतिदिन ४० क्विन्टल गोलभेँडा उत्पादन हुन्थ्यो, प्रतिकिलो पाँच रुपैयाँमा बिक्री गरेर पनि नाफा कमाएका थिए । तर, यस वर्ष गोलभेँडा बजारमा पठाउने समयमा लकडाउन सुरु भयो । खजुरा गाउँपालिका–८ ए–गाउँका खगेन्द्र बुढाक्षेत्रीले पनि चार कट्ठा जग्गामा लगाएको गोलभेँडा बजारमा पुर्‍याउन नसक्दा कुहिन थालेको बताए ।

नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरका मुनिर अहमद राहिनले एक बिघा बारीमा लगाएको बन्दागोभी कुहिएर नष्ट भएको छ । ‘करिब पाँच सय क्विन्टल बन्दागोभीमध्ये ८० प्रतिशत कुहिएर नष्ट भइसक्यो,’ उनले दुःखेसो पोखे । बन्दा तरकारीसँगै चाउमिन, मःम, पकौडामा बढी खपत हुने गरेको छ । होटेल, रेस्टरेन्ट, बार, कटेज र खाजापसल बन्द भएकाले बिक्री नभएको उनले बताए ।

नेपालगन्ज भन्सार कार्यालयका आइटी अफिसर पवन थापाका अनुसार लकडाउनयता १९ लाख ६४ हजार एक सय २५ किलो विभिन्न जातका भारतीय तरकारी भित्रिएको छ । ‘अघिल्ला महिनाभन्दा तरकारी आयातमा थोरै कमी आए पनि निर्वाध रूपमा आयात भइरहेको छ, दैनिक कम्तीमा पाँच ट्रक तरकारी र फलफूल आउँछन्,’ उनले भने । नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले समाचार लेखेका छन् ।