३ कार्तिक २०८३, मंगलबार

नेपाल फकाउँदै ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री केपी ओली स्वयंले सिर्जना गरेको समस्याको समाधान निकाल्न नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भएको छ।

वर्तमान अवस्थालाई सुरक्षित अवतरणका लागि पूर्वप्रधानमन्त्री नेपालसँग सहकार्य र सम्झौता आवश्यक रहेको हो। केही समययता तिक्ततापूर्ण सम्बन्ध रहे पनि समस्या समाधान गर्न सत्तारुढ दलभित्र यस्तो अवस्था निम्तिएको हो।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग चर्किएको अन्तर्विरोधले ओलीलाई रक्षात्मक स्थितिमा पुर्‍याएको छ। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजानुपर्ने पार्टी निर्णय कार्यान्वयन गर्न बेवास्तापछि ओली आफ्नै दलभित्र असजिलोमा पर्दै आएका थिए। पार्टीलाई छलेर अध्यादेश ल्याउनेसम्मका काम गरेपछि अन्य नेता पनि उनको कार्यशैलीविरुद्ध दाहालसँगै उभिन पुगे। समस्या समाधान गर्न प्रधानमन्त्री ओली अहिले प्रयासरत छन्।

उनले यति बेला वरिष्ठ नेता नेपाल पक्षसँग हात मिलाउन चाहेका छन्। त्यसकै लागि उनी आफैं र आपूmनिकट नेतामार्फत नेपाललाई फकाउने प्रयास भइरहेको छ। उनले सोमबार पनि नेपाललाई बालुवाटार बोलाएर झन्डै डेढ घण्टा छलफल गरे। छलफलको निष्कर्ष थियो— मिलेर जाऔं। ओलीले त्यसलगत्तै दुवै पक्षका दोस्रो तहका नेताको सामूहिक छलफल गराएर भए पनि सहमतिको खोजी गरेका थिए।

ओली–नेपाल भेटपछि कोटेश्वरस्थित नेपाल निवासछेउमै रहेको नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघको कार्यालयमा दुवै पक्षका नेताबीच छलफल चलेको थियो। नेपालसहित उनी पक्षधर स्थायी समिति सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र ओली पक्षका उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल र परराष्ट्रमन्त्री रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीबीच झन्डै चार घण्टा छलफल त्यहाँ भएको थियो।

मंगलबार सचिवालय बैठक बोलाउने, त्यही बैठकबाट स्थायी समिति बैठकको टुंगो लगाएर जानेबाहेक अन्य विषयमा समझदारी हुन नसकेको एक सहभागीले बताए। एकले अर्काे पक्षलाई कति गलाउन सकिन्छ भन्दै नाडी छाम्ने प्रयासका रूपमा यो बैठकलाई नेतृत्वले लिए।

‘कुनै ठोस सहमति जुट्न सकेन। उहाँहरूको ठोस प्रस्ताव केही पनि थिएन। खाली मिलेर जानुपर्‍यो भन्ने मात्र कुरा आयो। हामीले पनि मिलेरै जानुपर्छ, त्यसमा कुनै विमति छैन भन्यौं। मतभिन्नता छैन भने अब जाने कसरी ? तपाईंहरूले भन्नुपर्‍यो, प्रधानमन्त्रीले भन्नुपर्‍यो भन्यौं’, स्थायी समिति सदस्य पन्तले अन्नपूर्णसँग भने, ‘अहिलेको जटिलता प्रधानमन्त्रीबाट सिर्जिएको हो। त्यसैले यो जटिलतामा निकास दिने काममा प्रधानमन्त्री तयार हुनुपर्छ। त्यसका लागि छिटो सचिवालय बैठक र स्थायी समिति बैठक राख्नुपर्ने कुरा हामीले राख्यौं। ’

नेपाल पक्षले बैठकको माग गर्नेबित्तिकै ओली पक्षका नेताले मंगलबार सचिवालय बैठक बोलाउने तय भएको जानकारी दिएका थिए। ‘सचिवालय बैठक मंगलबार बस्ने तय भएको छ, बैठक बस्छ।

त्यसपछि अरू बैठकहरूका पनि कुरा होलान्, अहिले मिलेर जाने गरी सोचौं’, बैठकमा उपप्रधानमन्त्री पोखरेलले भूमिका बाँध्दै बताएको जानकारी पनि ती सहभागीले दिए। नेता नेपालले भने बैठकमा आफू सधैं पार्टीमा विधि र पद्धतिको कुरा गर्दै प्रश्न उठाइरहेको बताएका थिए। उनले कुरा सुने पनि आफ्नो राय राखेनन्। रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।