३ कार्तिक २०८३, मंगलबार

गाउँ फर्काउन होडबाजी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १४ वैशाख । जिल्लाबाहिर अलपत्र परेका ६० जना आफ्ना नागरिकलाई कालिकोटको पलाँता गाउँपालिकाले हालै गाउँ फर्काएको छ। डोल्पाको जगदुल्ला गाउँपालिकाले ४१ जनालाई तत्काल उद्धार गर्ने भएको छ।

सुर्खेतका प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही र जाजरकोटका प्रदेशसभा सदस्य करवीर शाहीको पहलमा पनि मजदुर तथा विद्यार्थीलाई उद्धार जारी छ। जुम्ला र मुगुका सबै स्थानीय तहले अलपत्र नागरिकको उद्धार गर्ने निर्णय गरेका छन्।

आफ्ना मतदातालाई गाउँ फर्काउन कर्णाली प्रदेशका जनप्रतिनिधिबीच होडबाजी चलेको छ। यसमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावलदेखि स्थानीय जनप्रतिनिधिसम्म सक्रिय छन्। स्थानीय बासिन्दाले भने सहरमा बसेकालाई गाउँ भित्र्याउँदा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै विरोध जनाइरहेका छन्।

लकडाउनका कारण घर फर्किन नपाएका नागरिकलाई प्रदेश सरकार र जिल्ला प्रशासनसँगको समन्वयमा उद्धार गरिरहेको स्थानीय तहले जनाएका छन्। यसरी गाउँ भित्रिनेहरू भने नियमानुसार क्वारेन्टाइनमा बस्दैनन्। पहुँचका भरमा जनप्रतिनिधिले रातारात गाउँ ल्याएका मतदाता क्वारेन्टाइनमा नबसेपछि जुम्लाका स्थानीयले विरोध गरेका छन्।

कतिपय स्थानीय तहले अलपत्र आफ्ना नागरिक जुन ठाउँमा छन् त्यहाँको स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरी उद्धार गर्ने योजना बनाएका छन्। त्यसका लागि उनीहरूले तथ्यांक संकलन गरिरहेका छन्।

फोन सम्पर्क गर्न सहजताका लागि स्थानीय तहमा सम्पर्क व्यक्तिसमेत तोकिएका छन्। उनीहरूको उद्धार खर्च सम्बन्धित स्थानीय तहले नै बेहोर्नेछन्। नन्दराम जैशीले अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छापेका छन् ।