काठमाडौं, १३ वैशाख । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी थालेको छ। आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण नेपालमा २४ लाखभन्दा बढी र वैदेशिक रोजगारीमा कार्यरत झन्डै ४० लाख श्रमिकको रोजगारी जोखिममा परेको छ। श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले रोजगारीको दोहोरो चापलाई थेग्ने गरी नयाँ कार्यक्रम ल्याउने तयारी भएको बताए। रोजगारीको अवसर गुमाएका सबैलाई समेट्ने गरी अहिलेका कार्यक्रमभन्दा फरक ढंगले स्वरोजगारका कार्यक्रम ल्याउन गृहकार्य भइरहेको उनको भनाइ छ। सरकारले विदेशमा रोजगारी गुमाएर फर्केका, विदेश जान नपाएर रोजगारी गुमाएका एवं कोरोनाका कारण स्वदेशमै रोजगारी गुमाएका सबैलाई समेटेर रोजगारीका नयाँ कार्यक्रम ल्याउन लागेको हो। कोरोनाले विश्व नै जोखिममा छ।
रोजगारीका लागि दैनिक एक हजार तीन सयभन्दा बढी नेपाली विदेश जान वाध्य छन्। बर्सेनि पाँच लाखभन्दा बढी श्रम बजारमा आउँछन्। कोरोनाले धेरैको रोजगारी गुम्ने संयुक्त राष्ट्र संघले समेत चेतावनी दिइसकेको छ। श्रम मन्त्रालयका प्रवक्ता घिमिरेका अनुसार कृषिमा आत्मनिर्भर हुने गरी नयाँ कार्यक्रम ल्याइनेछ।
युवालाई स्वरोजगार बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याए पनि प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको छैन। सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोष खडा गरे पनि अपेक्षाकृत स्वरोजगार सिर्जना हुन सकेको छैन। त्यस्तै सरकारले राष्ट्र बैंकमार्फत आधा दर्जनभन्दा बढी सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याए पनि लक्षित वर्गले सहजै ऋण पाउन सकेका छैनन्। अन्नपूर्ण पाेस्ट दैनिकमा तुलसी सुवेदीले समाचार लेखेका छन् ।















प्रतिक्रिया