
काठमाडौं, ११ वैशाख । राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरू पार्टी छोड्ने तयारीमा थिए । बिहीबार बिहानसम्म पार्टीबाट नेताहरू अलग्गिने सूचना पाएपछि समाजवादी र राजपाले बुधबार राति करिब ११ बजे एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
एकीकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। झन्डा यसअघि समाजवादीले प्रयोग गरेको हुनेछ भने चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको ‘छाता’ हुनेछ। पार्टी एकताको जानकारी बिहीबार निर्वाचन आयोगलाई दिने भएका छन्।
समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले दुई दलको एकताले पार्टी विभाजित गर्ने प्रधानमन्त्री ओलीको डिजाइन असफल बनाएको प्रतिक्रिया दिएका छन् । ‘पार्टी विभाजित गर्ने आपराधिक मानसिकता राखेर अध्यादेश ल्याइएको थियो, त्यसले हामीलाई एकीकरणमा आउन दबाब दियो’, उनले भने, ‘दुई पार्टीबीचको वैचारिक र सैद्धान्तिक आधारमा एकता प्रक्रिया अघि बढिरहे पनि ओलीको कदमले चाँडै एकतामा पुग्न सहयोग नै गर्यो।’
उनले अब कुनै पनि हालतमा पार्टी विभाजित हुन नसक्ने बताए । ‘सरकार सञ्चालनमा आफू असफल सावित भएपछि पार्टी विभाजित गर्ने मनसायका साथ त्यस्तो अध्यादेश ल्याइएको थियो, उनको योजनालाई असफल बनाउन सफल भइयो’, उनले थपे, ‘एकता नै नभएको भए पनि विभाजित गर्न सक्दैनथे ।’
राजपा नेता राजेन्द्र महतोले लामो समयदेखि अल्झिएको दुई दलको एकता प्रक्रियालाई टुंग्याइएको र मुलुकमा वैकल्पिक शक्ति निर्माणको बाटो खुलेको बताए । ‘दुई दलबीच एकतालाई चाँडो टुंगोमा पुर्याउन प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशले बल मिल्यो। हामीले पार्टी विभाजन होइन, मुलुकमा वैकल्पिक शक्ति निर्माण गर्यौं ।’
पार्टी विभाजनका लागि ४० प्रतिशत सांसद पुर्याउनुपर्ने व्यवस्थालाई चुनौती दिन दुई दलले रातारात सहमति गरेका हुन्। दुई दल मिलेपछि अब ४० प्रतिशत सांसद पुर्याउन गाह्रो हुन्छ। त्यसैले विभाजन टर्छ भन्ने बुझाइ नेताहरूको छ। दुई दल मिल्ने सहमति गरिसकेको अवस्थामा पुरानो दलको हैसियतमा विभाजन भए त्यसले कानूनी वैधता नपाउने र त्यसमाथि अदालतमा प्रश्न उठाउन सकिने आकलन गर्दै समाजवादी र राजपाले मध्यराति एकीकरण गरेका हुन्। कानुनी प्रक्रिया पूरा गर्नका लागि दुवै दलको केन्द्रीय कमिटी बैठक बसेको रेकर्ड हुनुपर्छ। रातारात एकताको सहमति गर्नुअघि दुवै दलको केन्द्रीय बैठक बसेको छैन ।
प्रधानमन्त्री केपी ओलीले मधेसी दल फुटाउनका लागि गरेको षड्यन्त्रलाई रोक्नका लागि तत्कालै एकता गरिहाल्नुपर्ने विश्लेषण दुई दलका नेताहरूले बुधबार साँझको बैठकमा गरेका थिए। त्यसैले राति नै एकताको सहमतिपत्रमा हस्ताक्षर भयो। समाजवादीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राजपाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन्। राजपा अध्यक्षमण्डलका राजकिशोर यादव र अनिलकुमार झाको सहमतिपत्रमा हस्ताक्षर छैन।
समाजवादी पार्टीका रेणु यादव इस्तियाक राईलगायत ८ सांसद पार्टी विभाजन गर्ने तयारीमा थिए। पार्टी विभाजनकै प्रयोजनका लागि जिल्लामा रहेका सांसदहरू काठमाडौं आउन थालेपछि समाजवादीका शीर्ष नेताहरू झस्किएका थिए। काठमाडौंबाहिर रहेका असन्तुष्ट सांसद सुरेन्द्र यादव, प्रदीप यादव, रेणु यादवलगायत राजधानी भित्रिएपछि समाजवादीका नेताहरूले सम्भावित दुर्घटना टार्न राजपाका नेताहरूसँग तत्काल एकीकरण गर्ने प्रस्ताव बुधबार अघि बढाएका थिए। समाजवादीका एक जना निलम्बितबाहेक १६ जना सांसद छन्। पार्टी फुटाउनका लागि ४० प्रतिशत पुर्याउन ६ जना सांसद भए पुग्छ। कान्तिपुर दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया