मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

कपिलवस्तुमा संघद्वारा व्यवसायीको समस्या बुझ्न बजार अनुगमन

दैनिक नेपाल २०७७ वैशाख ९ गते ८:४२

चन्द्रौटा, ९ वैशाख । व्यापार संघ कपिलवस्तुले दैनिक उपभोग्य वस्तुहरुको अवस्थाबारे सोमबार बजार अनुगमन गरेको छ । लकडाउनको अवधिमा व्यापारी व्यवसायीहरुमाथि परेको समस्याबारे बुझ्न व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल नेतृत्वको टोलीले बजार अनुगमन गरेको हो ।

लकडाउन अबधिमा खास गरी ढुवानीका कारण व्यवसायीहरुलाई केही समस्या भएको अनुगमनका क्रममा पाइएको व्यापार संघ अध्यक्ष पोखरेलले जानकारी दिए । तर अझैसम्म सामान नियमित रूपमा पाइएको व्यवसायीहरुले जनाएको उनले बताए । जिल्लाका बजारमा दैनिक उपभोग्य वस्तु केही समयसम्म सजिलोसँग पुग्ने स्टक रहेको ब्यवसायीले विश्वस्त दिलाएको उनले जनाए ।

व्यापार संघ कपिलवस्तुका अध्यक्ष पोखरेल नेतृत्वको अनुगमन टोलीमा उपाध्यक्ष अर्जुन सापकोटा, महासचिव, जगत पौडेल, सचिव गोपाल बञ्जाडे, कोषाध्यक्ष दीपक पौडेल, सहकोषाध्यक्ष नवराज न्यौपाने लगायतको सहभागिता रहेको थियो । जिल्लाभरका शाखाहरुलाई बजार अनुगमन गरी सुझाव सल्लाह संकलन गर्न निर्देशन समेत दिइएको व्यापार संघका जिल्ला अध्यक्ष पोखरेलले जानकारी दिएका छन् ।

जिल्लाको चन्द्रौटास्थित बन्जाडे किराना स्टोर्सका प्रोप्राइटर श्यामलाल बन्जाडेले लकडाउनको समयमा उद्योगीले नै उपभोग्य वस्तुको मूल्य बढाउने काम गर्ने र ढुवानीमा समस्या भएकै कारण दैनिक उपभोग्य सामान केही महँगो भएको जानकारी दिए । स्थानीय स्तरमा चलेका सर्फ, भुजा, आटा लगायतका साना उद्योगलाई संचालन गर्न दिएमा स्थानीय बजारमा दैनिक उपभोग्य वस्तु केही सहज हुने बन्जाडेले बताए । साथै उनले ब्यापार संघले सानो उद्योग संचालनका लागि सम्बन्धित निकायसँग सहजीकरण गर्न अनुरोध समेत गरे ।

ओम साई किराना स्टोर्सका प्रोप्राइटर सीताराम गोयलले अहिलेसम्म बजारमा दैनिक उपभोग्य बस्तु खाद्यान्न कमी नभएको जानकारी दिए । नेपाली मसुरो दाल तेस्रो मुलुकबाट आउने दालभन्दा पहिल्यैदेखि महँगो रहेको अवगत गराउँदै अहिले बजारमा नेपालकै मसुरो दाल भएकाले फुटकर व्यवसायी र उपभोक्ताहरुलाई केही महँगो जस्तो लागेको बताए । तेस्रो मुलुकबाट आउने दालभन्दा नेपाली मसुरो दाल अहिले २० प्रतिशतजति महँगो रहेको गोयलले बताए ।

तर ठूला व्यापारीले आटा, दाल जस्ता दैनिक उपभोग्य सामान सजिलोसँग दिन नखोज्दा आफूहरु मारमा परेको साना व्यवसायीले अनुगमन टोलीसँग गुनासो पोखे । साना व्यवसायीले पनि सहज रुपमा व्यवसाय संचालन गर्न सकिने वातावरण सृजना गर्न व्यापार संघले भूमिका खेल्नुपर्ने उनीहरुले आग्रह गरेका थिए ।

यता राइस मिल संचालकहरुले आफूहरुले विक्री गर्दै आएको मोटा चामलकै मूल्य बढेर आएकाले उपभोक्ताहरुलाई आफूहरुले पहिलेकै दररेटमा उपलब्ध गराउन नसकिएको गुनासो गरे । गोदाम तथा मिलमा चामल स्टक रहेकाले अझ केही समयका लागि बजारमा समस्या हुन नदिने चामल व्यवसायीहरुले बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित