आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

विदेशबाट फर्किएका युवालाई रोजगारी दिन कार्यदल गठन

दैनिक नेपाल २०७७ वैशाख ८ गते ९:५४

काठमाडाैं, ८ वैशाख । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवालाई उद्यममा संलग्न गराएर देशमै रोजगारी दिन कार्यदल गठन भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा आइतबार विभिन्न मन्त्रालय र निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिबीच भएको छलफलले विदेशबाट आएका युवालाई देशमै उद्यम गर्न प्रेरित गर्नको लागि कार्यदल गठन गरेको हो ।

कार्यदलको नेतृत्व उद्योग मन्त्रालयको औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखा प्रमुखले गर्नेछन् भने कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सदस्य रहनेछन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा निजी क्षेत्रका छाता सङ्गठनहरु, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर्स अफ् कमर्स र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधि पनि रहनेछन् ।

कार्यदलले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई उत्पादनशील उद्यमशीलतामा सहभागी गराउन विशेष योजना तयार गर्नेछ ।

विषेश योजना कार्यान्वयन गर्न लगानी गर्नपर्ने स्राेत र साधन परिचालनको प्रस्ताव गर्नेछ । कार्यदलले १५ दिनभित्र प्रतिवदेन बुझाउनुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित