३ कार्तिक २०८३, मंगलबार

नेपालमा उकालाे चढ्याे काेराेना संक्रमितकाे संख्या, एकैदिन थपिए १४ संक्रमित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ६ वैशाख । नेपालमा शुक्रबार एकैदिन कोरोना (कोभिड– १९)का १४ बिरामी थपिएका छन् । उदयपुरमा १२ र चितवनमा दुईजना थपिएपछि नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा भेटिएका १२ संक्रमित भारतीय पुरुष हुन् । उनीहरूमध्ये चारजना २८ वर्षका, दुईजना २९ वर्षका र अन्य २०, २२, २५, २६, ३४ र ४० वर्षका छन् । संक्रमित भारतीयसँगै चार नेपाली पनि बस्दै आएका थिए । १६ जनाकै थ्रोट स्वाब परीक्षण गर्दा १२ मा संक्रमण देखिएको हो ।

त्यस्तै, चितवनका संक्रमित ६३ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । उदयपुरमा भेटिएका संक्रमितको विराटनगरस्थित कोसी अस्पतालमा उपचार हुनेछ । चितवनका संक्रमितको भरतपुरस्थित कोभिड अस्पतालमा उपचार हुनेछ ।

पछिल्लो २४ घन्टामा शंकास्पद चार हजार आठ सय २२ जनाको नमुना परीक्षण भएको छ । अहिलेसम्म २४ हजार दुई सय ५३ को परीक्षण भएको छ । तीमध्ये सात हजार ६ सय ८८ को पिसिआर र १६ हजार पाँच सय ६४ को र्‍यापिड टेस्ट भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । त्यस्तै, काठमाडौं उपत्यकामा पाँच र बाहिर ८५ गरी ९० जना आइसोलेसनमा छन् । देशभर चार हजार ६ सय सातजना क्वारेन्टाइनमा छन् ।

कोरोना परीक्षणको दायरा फराकिलो बनाउन स्वास्थ्य मन्त्रालयले पाटन अस्पतालमा पनि पिसिआर प्रविधिबाट परीक्षण सुरु गरेको छ । पाटनमा थपिएसँगै देशभर पिसिआर प्रविधिबाट १४ ठाउँमा परीक्षण हुन थालेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

त्यस्तै, कोरोना संक्रमणको बढी जोखिम आकलन गरिएको सुदूरपश्चिममा केन्द्रबाट थप चिकित्सक खटाइएका छन् । शुक्रबार काठमाडौंबाट ३३ चिकित्सकको टोली धनगढी पठाइएको हो । संक्रमित र शंकास्पद बिरामीको उपचारका लागि उनीहरूलाई आवश्यकताअनुसार जिल्ला–जिल्लामा खटाइने सरकारले जनाएको छ ।

२५ हजार नेपाली कार्यरत बहराइनमा हालसम्म ४९ नेपाली संक्रमित भएका छन् । पछिल्लो अपडेटमा मात्रै २७ नेपाली संक्रमित थपिएका छन् । बहराइनस्थित नेपाली दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै संक्रमित नेपालीबारे जानकारी गराएको हो । यसअघि संक्रमित भएका २२ नेपालीको स्वास्थ्य सुधारोन्मुख रहेको र कतिपय उपचारपछि घर फर्केको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

बहराइन सरकारले बिनाकागजात बसेका विदेशी नागरिकलाई आगामी ३१ डिसेम्बरभित्र वैधानिक हुन वा देश छाड्न यसअघि नै आग्रह गरिसकेको छ । त्यसपछि पनि गैरकानुनी रूपमा बसे कारबाही गर्ने चेतावनी दिएको छ । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।