२९ आश्विन २०८३, बिहिबार

कोरोना महायुद्धमा ‘ब्ल्याकलेवल’ ब्यङ्ग्य

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-निर्मल भट्टराई

कोरोनाविरुद्धको महायुद्धमा जीवनमा कहिल्यै नभोगेको लकडाउनसँग लय मिलाउन सबैलाई जस्तै मलाई पनि गाह्रो परिरहेको छ । दिनदिनै भेट्ने साथीहरु बेलाबेला मोवाइलको म्यासेञ्जरमा दाह्री झुस्स पालेको फोटो देखाउँछन् । आफ्नो पनि त्यस्तै ।

सबैको हालखबर एउटै छ–लकडाउन । भयानक फुर्सद छ, जीवनमा कहिल्यै नभएको फुर्सद । आफ्नै बलबुताले निकालेको फुर्सद जति आनन्दायी हुन्छ, त्यति नै कोरोनाको कहरले थोपरिदिएको फुर्सद कहालीलाग्दो ।

अधिकांश मानिसहरु यात्रा सौखिन हुन्छन् । कति त कठिन यात्रा सौखिन । लकडाउनमा म पनि बारम्बार यात्रामा निस्कन्छु ।

कि मेरा महान यात्रा बेडरुमबाट सुरु भएर किचेनमा अन्त्य हुन्छ कि आल्मारीका थोत्रा किताबबाट सुरु भएर फेसबुकका हावादारी समाचारसम्म । लम्बेतान भिडियो सम्मेलन लकडाउन जीवनशैली हो ।

आज विहानै एक जना धुर पस्ने स्वभावका धनी, स्वनाम धन्य वरिष्ठ ब्यङ्गकारसँग मेरो लम्बेतान भिडियो कन्फेरेन्स सुसम्पन्न भयो ।

उनी वरिष्ठ ब्यङ्गकार हुन् किनभने उनी अमृतको घडामा विषैविष देख्छन् , उनी व्यवस्थामा अव्यवस्था देख्छन्, शान्तिमा कोलाहल देख्छन्, कोलाहलमा मुर्दा शान्ति देख्छन्, पानीमा रक्सी देख्छन् र रक्सीमा जीवन ।

उनलाई डबल वरिष्ठ भन्न सकिन्छ किनभने उनी कम्युनिष्टलाई पूँजीवादी र दलाल देख्छन्, पूँजीवादीलाई बडो क्रान्तिकारी कम्युनिष्ट देख्छन् ।

गरिबलाई धनी देख्छन्, धनीलाई गरिब । साथीलाई महाशत्रु देख्छन्, महाशत्रुलाई साथी । उनी भद्रगोललाई विद्रोहको विल्ला भिराउछन्, आफ्नो दिल दिमागमा असन्तुष्टिको पोको झुण्ड्याएर कराउँछन् ।

समकालीन ब्यङ्ग साहित्यमा आफूलाई धुरीण ठान्ने मेरा साथी वास्तवमा बढी गाली मास्टर र कम ब्यङ्गकार हुन् । यिनी आफूबाहेक अरु सबैलाई चोर, डाका, भ्रष्टाचारी, फटाहा देख्दछन् ।

प्रशिद्ध अंग्रेजी ब्यङ्गकार जोनाथन स्वीफ्टले ब्यङ्ग त्यस्तो ऐना हो, जसबाट ऐना उचाल्नेले आफ्नोबाहेक अरु सबैको अनुहार देख्दछ भन्दथे ।

त्यही परिभाषाबाट पुलकित भएर हो या अरु कुनै कारणले यिनी खुर्सानीको बोटलाई बञ्चरो चलाउछन् र खुर्सानीको ‘रुख’ ढालेको विगुल फुक्छन् ।

लामो समयदेखि ब्यङ्गको बारीमा नदेखिएका मेरा वरिष्ठ ब्यङ्गकार साथी हिजोआज ‘खैराँते पाटी डट कम’ मा नियमित रुपमा कोरोना महात्म्य लेख्न सुरु गरेका छन् ।

उनको महात्म्यमा कोरोनाविरुद्ध लडिरहेको वर्तमान सरकारलाई ‘नरकतिर यात्रा गरिरहेको’,‘सङ्कीर्ण’, ‘ओलीफत्तुर’, ‘गोबरगणेश’, ‘सर्वज्ञानी’, ‘गगनवासी’, ‘बाहुबली’, ‘अलमस्त’, ‘सिन्को नभाँच्ने’, ‘सुस्तता र लापरवाहीगर्ने’, खण्डे दृष्टियुक्त रोगी’, ‘खण्डमति’, ‘बहुलठ्ठीपन’, ‘सिल्ली’, ‘चटके’ जस्ता विशेषणले सुशोभन गरिएको देखे पढेपछि सबै मिलेर कोरोनाविरुद्ध लड्नु पर्ने बेला आखिर यिनी किन यस्तो गर्दैछन् भन्ने हुटहुटीले उनीसँग भिडियो सम्वाद गर्ने निधो गरेँ ।

उनी तर्फको भिडियो खुल्नासाथ राताकाला आयतित ह्विस्की अगाडि राखेर डिनर ज्यूनार गर्न ठिक्क परेका रहेछन् ।

आँगनमा आगो बालेर अर्गानिक पाराले पकाईएको मासुको पकवान कसैले ह्विस्की राखिएको टेवलमा राखिदियो । मसँग बोल्न छोडेर मेरा ब्यङ्ग्यकार साथीले टेबुलतिर हेरे र थुक घुटुक्क निले ।

उनको सामुन्नेमा पन्द्र वर्ष जति पुरानो कम्ब्याट ड्रेस लगाएका अर्का मनुवा देखिए तर उनको अनुहार देखिएन । हाम्रो सम्वाद सुरु भयो ।

“नमस्कार ब्यङ्गकारज्यू ! के छ हालखबर, कस्तो छ लकडाउन?” मैले कुरा सुरु गरे ।

“खास केही छैन, एकजना मेरा पुराना मुर्धन्य साथी पाउना आउनुभएको छ, डिनर हसुर्न लागिया छ,” उनले ठट्यौलो पारामा हाँस्दै भने ।

“अमेरिकाबाट फर्के लगत्तै सरकार विरोधी महात्म्य सिर्जनामा जुटिसक्नु भएछ”, मैले कुरा कोट्याउन खोजें ।

“मतलब?” उनले अनभिज्ञता जाहेर गरे ।

“ऊक्या त त्यो खैराँते डट कममा तपाईंको धारावाहिक सरकार विरोधी महात्म्य छापिँदैछ नि ! तपाईंले त सरकारले केही गरेन, अहिलेसम्म नेपाल कोरोनाको निकै कम प्रभावित देश बन्न सकेको पशुपतिनाथको कृपाले हो पो भन्नु भएछ । यो सरकारले केही गरेन र ? सरकारले गरेका राम्रा कामलाई त राम्रै भन्नु पर्ने होइन र ?” मैले असन्तुष्टियुक्त जिज्ञाशा राखें ।

“एत्यो ?त्यो त ब्याकलेवेल ब्यङ्ग्य हो ! यो अलि कडा हुन्छ अक्सर,” उनले सहज उत्तर दिए ।

“ब्ल्याकलेवेल ब्यङ्ग्य ? मैले त अंग्रेजी साहित्यमा होरासियन ब्यङ्ग्य र जोभेनल ब्यङ्ग भन्ने पढेको थिए.। यो ब्यङ्ग्यको नयाँ प्रकार कहाँबाट आयो फेरि ? मैले आश्चर्य व्यक्त गरें ।

“तपाई निकै प्राज्ञिक बहस गर्न थाल्नुभो । कुरा सिम्पल छ । ंमलाई जसले ब्याकलेवल ह्विस्की दिन्छ र भन्छ कि उसका विपक्षीको उछित्तो काढ्दे । म सहजै सहमत भैहाल्छु र भोलिपल्टदेखि उसको विपक्षीको हुर्मत लिने मेरो एक मात्र पुनित कर्तव्य हुन्छ । अहिले बालुवाटारले कोरोना नियन्त्रणमा निकै प्रभावकारी कदमचालिदिएर उसका विपक्षीहरु हैरान भएका छन् । बालुवाटारको त्यो कर्मले उसको विपक्षीलाई आफ्नो राजनीति सकिएला भन्ने त्राहित्राहि छ । बालुवाटारले कोरोनामात्र नियन्त्रण गर्दैन,आफ्ना आलोचक र विपक्षीलाई पनि सखाप पार्छ भन्ने आतंक फैलिएको छ उनीहरुमा । अनि संसारका राम्रा राम्रा ह्विस्की काखी च्यापेर दौडेर मकहाँ आईपुग्छन् । बँदेलका फिला मगाईन्छ । तस्करीमा कालिज पनि आईपुग्छ । बुढानिलकण्ठतिरबाट आउँछ, ललितपुरतिरबाट आउँछ । कहिलेकहीँ त लाजिम्पाटबाट पनि आउँछ । अनि मेरो ब्यङ्गबारीमा बालुवाटार विरोधी विष मौलाउँछ । तपाईलाई थाहै छ म धुर पस्न थालेपछि खत्रा ढंगले धुर पस्छु ।

ब्याकलेवलका महाप्रतापबाट जन्मेको ब्यङ्ग्य भएकोले यसलाई मैले ब्याकलेवल ब्यङ्ग्य भन्ने गरेको छु, यो मेरो व्यक्तिगत परिभाषा हो, बुझ्नुभो ? मेरो कामै नुनको सोझो गर्ने हो, राम्रो गर्नेहरुलाई जसरी हुन्छ, बदनाम गर्ने हो ।” उनले प्रष्ट पारे ।

“बालुवाटारले चाँहि तपाईंलाई केही अफर गरेन ? मेरो मतलब, ब्ल्याकलेवल वा त्यस्तै ।”

“अहँ आजसम्म एक थोपो पनि चुहाएका छैनन् । बालुवाटारका ‘बहुलठ्ठी’हरुले ब्याकलेवल त के लोकल ठर्रा पनि अफर गरेनन् । म नै अचम्ममा छु उनीहरुले मलाई कति चाँडो चिनेछन् । समाजमा म जस्तो ‘वरिष्ठ’ ब्यङ्गकारको अनगिन्ती अवमूल्यन भएको तिनीहरुलाई कसरी थाहा भएछ ? ठर्राको भरमा समेत धुर पस्ने मजस्तो मानिसलाई महत्व नदिन कसरी जानेको तिनीहरुले ? त्यहाँ एकजना पनि म जस्तो ब्ल्याकलेवलमा विक्ने नहुनु चिन्ताको विषय हो”,उनले ओठ लेप्य्राए ।
साथीका मुर्धन्य पाहुनाले हात हल्लाएको देखियो । कुम हल्लाएको देखियो ।

आँगनमा आगो बालेर अर्गानिक पाराले पकाईएको मासुको पकवान कसैले ह्विस्की राखिएको टेवलमा राखिदियो । मसँग बोल्न छोडेर मेरा ब्यङ्ग्यकार साथीले टेबुलतिर हेरे र थुक घुटुक्क निले ।

“सबैले आफ्नो आफ्नो जीवन जिउने हो, रात परेपछि पिउने हो, देश भाँडमै जावोस् । म तथालें पिउन । भोलि खैराँते डट कममा ‘म कोरोना भेट्न खोज्छु, बालुवाटारले रोक्छ’ भन्ने शीर्षकमा मेरो विशेष आलेख आउँदैछ, हेर्न नभुल्नुहोला ।

आलेखमा बालुवाटारका खास मान्छेको हुर्मत काडिएको छ,” उनले सम्वाद टुङ्ग्याए ।

तथाकथित वरिष्ठहरुको त यो मति, अरुको के गति !