३ कार्तिक २०८३, मंगलबार

जहाँको सास्ती सरकारले देख्दैन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । बिहीबार बिहान ओरालो लाग्दै हामीले नागढुंगा चेकपोस्टका प्रहरीसँग सोधेका थियौं– आज कति जति मजदुर हिँडेर बाहिर गए ? करिब ५ मिनेट मात्रै ओरालो झरेपछि भित्तामा अडेस लागेर सुस्ताएका तीन जना यात्रीलाई हामीले भेट्यौं । तीमध्ये एक जना सात महिनाकी गर्भवती रहिछन् ।

पृथ्वी राजमार्गको नागढुंगाभन्दा पर पिपलामोड पुग्दा हेटौंडा हिँडेको ट्रकले ‘नारायणघाटसम्म पुर्‍याइदिन्छु’ भनेपछि बिहीबार बिहान ट्रकमा बसेका मजदुरहरू (बायाँ) । तर धादिङको गल्छी पुगेको उक्त ट्रकलाई प्रहरीले ‘जहाँबाट ल्याएको हो त्यहीँ लगेर छाडिदिनू’ भनेपछि फर्केर पिपलामोडमै छाडिदिएपछि फेरि हिँडेर महादेवबेंसी पुगेका मजदुर । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

सल्यान, कपुरकोटकी १७ वर्षीया गर्भवती कमला घर्ती आफ्नै रहर या साथीसंगतिको लहलहैमा हिँडेर सल्यान पुग्न कस्सिएकी भने होइनन्। इँटाभट्टामा काम गर्दा कमाएको पैसा र अलिअलि भएको रासन ‘लकडाउन’ को २४ औं दिनमा आइपुग्दासम्म सकिएपछि उनीसँग जसरी भए पनि घर फर्किनुको अर्काे विकल्प थिएन।

‘पेटमा बच्चा छ, साहुले रासन पनि दिएन,’ कमलाले भनिन्, ‘जसोतसो घर पुग्न पाए हुन्थ्यो भनेर निस्किएका हौं।’कमलाका श्रीमान्सहितको टोली भने एक घण्टाअघि नै त्यहाँबाट हिँडिसकेको रहेछ। कमलाहरूचाहिँ काठमाडौंमा मालसामान छाडेर फर्किएका ट्रकले चढ्न देलान् कि भनेर पर्खिबसेका रहेछन्। ‘हिँड्न सकिएन, हाम्रो बिजोग भयो, जसरी पनि लगिदिनुस् भनेपछि दया देखाउँछन् कि भनेर कुरेका हौं,’ कमलासँगै रित्तो ट्रक पर्खेर बसेकी कपुरकोटकै प्रतिभा बुढाले भनिन्।

उनीहरूलाई त्यहीँ छाडेर हामी नौबिसेतर्फ अघि बढ्यौं। जसै काठमाडौं जिल्लाभित्रै पर्ने पिपलामोड सकिनेबित्तिकैको सानो मोड पुग्यौं, एक हूल मानिसहरू ट्रकमा अटेसमटेस भएर बसिरहेका थिए। बर्दियाका मात्रै ३९ र दाङ, सल्यानका ११ जनाको त्यो टोली काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकका विभिन्न कलकारखानामा काम गर्ने मजदुरहरूको रहेछ।

यसअघि ट्रकमा त्यसरी खाँदाखाँद गरेर तराई–मधेसबाट राँगा–भैंसी मात्रै ल्याएको देखेका हाम्रा आँखा त्यो दृश्यले बिझाउनु स्वाभाविक थियो। तर रातोदिनको हिँडाइले लखतरान परेका ती मजदुरहरूलाई दुई खुट्टा मात्रै अड्याउन भए पनि ट्रक भेटिएकामा असाध्यै खुसी लागेको थियो।

कति जना सिन्धुपाल्चोकबाट दुई दिन हिँडेर त्यहाँ पुगेका रहेछन् भने कति काभ्रेबाट दिनभरिको बाटो नापेर जम्मा भएका। तामाकोसी हाइड्रोपावरमा काम गर्न चैत ८ गते मात्रै सिन्धुपाल्चोक पुगेका निरञ्जन बुढाथोकी दुई दिन हिँडेर काठमाडौं कटेपछि त्यो ट्रक चढ्न पाएका थिए। हिँड्दै आउँदा पनि ठाउँ–ठाउँमा प्रहरीको केरकारमा परेका उनी बाटोमा खाना, चिउरा र चाउचाउ खुवाउने तथा ट्रकले नारायणघाटसम्म पुर्‍याइदिन्छु भनेर मागेको पाँच सय रुपैयाँ तिरिदिने मनकारीप्रति कृतज्ञ देखिए।  कान्तिपुर दैनिकमा विनु सुवेदीले समाचार लेखेकी छिन् ।