३ कार्तिक २०८३, मंगलबार

लहानमा राहतको आलु पनि कुहिएको, गन्हाएको चामल पालिकालाई फिर्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, ४ वैशाख । लहान नगरपालिकाले राहतमा बाँडेको कुहिएर खानै नमिल्ने चामल दलित तथा विपन्नले फिर्ता गरेका छन् । राहत बुझेका वडा नम्बर २० का दलित परिवारले बुधबार चामल वडा कार्यालयमै फिर्ता दिएका छन् ।

तीन दिनअघि राहतमा पाएको चामल फिर्ता गर्न वडा कार्यालयमा आएकी लहान– २० ब्राह्मण गाउँकी अनिता चौधरीले कोरोनाको संक्रमणभन्दा राहतमा पाएको चामल खाएर मरिन्छ कि भन्ने डर लागेको बताइन् । ‘कुहिएर खानै नसकिने चामल दिएको छ, गन्हाउँछ । कोरोना भाइरस सरेरभन्दा राहतमा पाएको चामल खाएर मरिन्छ भन्ने डर लागेको छ,’ ४१ वर्षीया अनिताले भनिन् ।

वडा नम्बर २० का ३७ वर्षीया लीलादेवी राम र ४६ वर्षीय भिखन रामले पनि चामल वडा कार्यालयमै फिर्ता गरेको बताए । ‘नपकाउँदै गन्हाएको थियो, पकाएपछि पनि खान सकिएन,’ वडा कार्यालयमै भेटिएकी लीलादेवीले भनिन्, ‘यस्तो कुहिएको चामल किन घरमा राख्ने भनेर यहीँ फिर्ता ल्याएकी हुँ ।’

वडाध्यक्ष गणेशकुमार चौधरीले राहत पाएका दलितहरूले चामलको विषयमा तीन दिनदेखि गुनासो गरिरहेको बताए । ‘वडा क्षेत्रमा तत्काल पहिचान गरिएका चार सय ६० घर दलित, गरिबमध्ये बुधबारसम्म तीन सय २३ घरधुरीलाई राहत बाँडेका छौँ,’ चौधरीले भने, ‘राहत बुझ्ने अधिकांशले चामल गन्हाएको भन्दै गुणस्तरमा प्रश्न उठाएका छन् ।’ बुधबार दिउँसो ब्राह्मण, रामटोल, हरिनगरा, मलहन्माका दलितहरू गुनासोसहित वडा कार्यालयमा पुगेका थिए । यति हुँदाहुँदै पनि वडाले छुटेका विपन्नहरूलाई समेत यस्तै राहत बाँड्ने तयारी गरेको छ ।

नगरपालिकाले लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान)बाट ६६ लाख ७४ हजार दुई सय ५० रुपैयाँमा एक हजार ६ सय क्विन्टल चामल किनेर राहत बाँडेको थियो । लकडाउनका कारण हातमुख जोड्न नपाएका विपन्न र दलित परिवारलाई २०–२० किलोका पोका बनाएर चामल दिइएको थियो । तर, कुहिएर गन्हाएको चामल खानै नमिल्ने थियो । बाध्य भएर छाक टार्न भात पकाएर खाएकाहरू पाखाला लागेर बिरामी भएका थिए । यससम्बन्धी नयाँ पत्रिकाले बुधबारको अंकमा ‘विपन्नलाई राहतमा कुहिएको गन्हाउने चामल’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । मणिलाल विश्वकर्माले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।