काठमाडौं, ३० चैत । सेवा थालेको २८ बर्षको सुरुआतको मध्यराती गृह मन्त्रालयले २९ चैत ०४९ मा प्रहरी निरिक्षकमा प्रवेश गरेका नेपाल प्रहरीका ६ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरिक्षक (डिआईजी)का लागि सिफारिस गरेको छ ।
यो सिफारिसमा परेको कार्य सम्पादन मुल्यांकनको विषयलाई केही फरक हिसाबले व्याख्या गर्ने र अचम्म मान्नेको टिप्पणी एकातिर छ । तर अर्कातिर सिफारिसमा नपरेका अब्बल प्रहरी अधिकारीहरुका विषयमा पनि सुरक्षा वृत्तमा चर्चा चलेको छ ।
त्यस मध्येका एक हुन् एसएसपी दिवेश लोहनी । लोहनी आफ्ना ब्याचीमा प्राय अगाडि नै थिए, पछाडी थिएनन् । यो सरकार गठन भएको सुरुआती बर्षमा भएको ३३ किलो सुनकाण्डको अनुसन्धानको विषयमा भने उनी विवादमा तानिए जसले लोहनीलाई धक्का लागेको जानकारहरु बताउँछन् ।
लोहनीका सहकर्मी तथा उनलाई निर्देशन दिएर काम लगाएका तत्कालिन प्रहरी अधिकारीहरु पनि अचम्मित छन्, सिफारिस देखेर । प्रहरी संगठनमा अब्बल, दिग्गज र अनुसन्धानमा प्रभावकारी काम गर्ने लोहनीका लागि डिआईजी सिफारिसमा छुट्नु मुख्य दुई विषय घातक भयो ।
पहिलो, सरकारले डिआईजीको संख्या सीमित राख्नु, दोस्रोचाहिँ चुडामणि उप्रेती गोरेको सुन तस्करी प्रकरणमा गृह मन्त्रालयले अनुसन्धानको नेतृत्व गरेका लोहनीलाई पनि अभियोजन लगाउनु । हुन त त्यो अभियोजन पुष्टि हुन सकेन, उनी काममा फर्किए । तर कार्य सम्पादन मुल्यांकनमा भने त्यहि अभियोजनले लोहनीको करिअरमा धक्का लाग्यो ।
‘बढुवाका लागि सीमित पद संख्या र कार्य सम्पादन मुल्यांकन नै मुख्य विषय भएकाले अटाउन सक्नेलाई मात्र सिफारिस गरिन्छ’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘प्राथमिकताको विषयबाहेकका अन्य विषयमा टिप्पणी गर्न मिल्दैन, त्यसमा अटाएको खण्डमा बढुवा सिफारिसमा नपर्ने कुरै हुँदैन ।’
त्यसो त बढुवा सिफारिसमा राजनीतिक हस्तक्षेप पनि खुला रुपमा नै देखिने गरेको छ, नेपाल प्रहरीमा । जसको आलोचना प्रायः हुने गरेकै छ । बढुवा सिफारिस मात्र होइन, प्रहरी प्रमुख नियुक्तिको विषयमा पनि राजनीतिक हस्तक्षेप खुला रुपमा देखिएकै हो ।
एक अधिकारीका अनुसार लोहनी पनि संगठनभित्र र बाहिरका अनेक प्रकरणको कोपभाजनमा परेका हुन सक्छन् । हुन त डिआईजीको दरबन्दी नै सरकारले कोपभाजनमा पारे पछि त्यसको मारमा लोहनीलगायत अन्य काबिल अफिसर पनि परेका छन् । ति मध्ये पनि अब्बल हुँदा हुँदै लोहनीलाई करिअरमा धक्का लागेको बताइन्छ ।
‘राजनीतिक हस्तक्षेपले प्रहरीको चेन अफ कमान्डलाई ध्वस्त बनाएको छ । कार्य क्षमता र दक्षताको विषयलाई नजरअन्दाज गरी सिनियरअघि नै जुनियरलाई अगाडि बढाउने, चेन अफ कमान्ड सत्ताको आडमा तोड्ने काम पहिला देखि नै हुँदै आएको दृष्टान्त छ’, प्रहरीका एक पूर्वमहानिरिक्षक भन्छन्, ‘जबसम्म संगठनको पूरा जिम्मेवारी हस्तक्षेपबिना संगठन प्रमुखलाई गर्न दिइन्न काबिल अफिसर छुट्छन् । दबाबमा छुटाइन्छ । त्यसैको एक उदाहरण हुन् लोहनी ।’











प्रतिक्रिया