बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना महाप्रकोप र भद्रगोलमा गोल गर्ने साथी

निर्मल भट्टराई २०७६ चैत २९ गते ११:०२

कोरोना नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनमा मेरो एक जना तुफानी जीवनशैली भएको साथी के गर्दैहोला भन्ने उत्सुकता मलाई पहिलो भाले डाकसंगै शुरु भयो । कोरोनाले ल्याइदिएको अनपेक्षित फुर्सदले आफ्ना पुराना जिग्री साथीहरु सम्झना गरें मैले । अरु गर्ने नै पो के थियो र !

आज एकाविहानै सम्झेको मेरो साथीचाहिं सानैदेखि अलि विचित्रकै थियो । स्कुले जीवनको सम्झना छ, भकुण्डो खेल्दाको । हामी गोल हान्न मैदानमा ननस्टप दौडने । ऊ चाहिँ विपक्षीको गोलपोण्ट नजिकै घोर हेरेर बसिरहने । गोलपोष्ट नजिकै सबै खेलाडि झुम्म भएपछि ऊ एकाएक सक्रिय भईहाल्ने । कता कताबाट गोलपोष्टमा गोल हान्न सफल भईहाल्थ्यो ऊ । गोल गरेपछि प्रफुल्ल मुद्रामा भन्थ्यो –भद्रगोलमा गोल गर्ने हो क्या !

स्कुल सँगसगै पढे पनि ऊ र म फरक–फरक कलेजमा अध्ययन शुरु गर्यौ । उसले सानो बेलामा भकुण्डो खेलमा प्रयोग गरेको ‘भद्रगोलमा गोल गर्ने’ तौर तरिका झन राम्ररी प्रयोग गर्न थाल्यो । सबभन्दा राम्ररी त यो तौर तरिका उसले राजनीतिमा प्रयोग गर्यो । अरु पर्चा बाँड्थे । विद्यार्थीको घर घर जान्थे । भेला बैठक गर्थे । आमसभा गर्थे, भाषण गर्थे । विपक्षीसंग लड्थे । कुट्थे, कुटाई खान्थे । तर मेरो वालसखालाई वाल मतलव थिएन । ऊ परिस्थितिलाई कसरी भद्रगोलतिर लैजान सकिन्छ भन्ने तानावाना बुन्थ्यो, लागू गथ्र्यो र राजनीतिक ‘गोल’ गथ्र्यो । भद्रगोलमा गोल गर्न माहिर बन्दै गयो ऊ ।

उसको निसाना संधै अचुक । हेर्दाहेर्दै ऊ राजनीतिको राष्ट्रिय खेलाडी बन्यो । देशमा कहिले युद्धमा राजनीति चल्यो, कहिले राजनीतिमा युद्ध । उसको सफलता रोकिएन । युद्धको खेलमा पनि उसकै गोल, राजनीतिको खेलमा पनि उसकै गोल ।आज विहानै मैले उसलाई सम्झें । मलाई उसको हालखबर बुझ्ने उत्सुकता ह्वात्तै बढ्यो । दुरभाषको प्रयोग गरेर केही भलाकुसारी गर्ने निधो गरें मैले । अरुबेला अचाक्ली व्यस्त रहने उसको फोन आज होलै रहेछ ।

हाम्रो फोन वार्ता यहाँ जस्ताको तस्तै उतारिएको छ ।

म : हेलो, नमस्कार ! कताहुनुहुन्छ ? सञ्चो विसञ्चो के छ ?

साथी : नमस्कार, नमस्कार ! तपाईं पनि आरामै हुनुहुन्छ ? हालखबर के छ ?

म : हालखबर त खासु छ नि

साथी : खासु ? मैले कुरो बुझिन नि ।

म : खा सु मतलब खायो सुत्यो !

साथी : हा हा हा !

म : तपाईंको चाहिँ के छ नि खास खबर ? तपाईंको पनि मेरोजस्तै खासु खबर त होला नि ।

साथी : हेर्नोस् मित्र, जस्तोसुकै परिस्थितिमा पनि म चुप लागेर बस्ने मानिस होईन तपाईंलाई थाहै छ, म भद्रगोलमा गोल गर्न बानी परेको मानिस हुँ । आज सम्म जे जति उपलब्धी पाएको छु त्यो सबै मैले भद्रगोलमा गोल गरेरै पाएको हुँ । कोरोना भाइरसविरुद्धको यो युद्धमा म चुप लागेर बस्ने कुरै आउदैन । मेरो जीवनकै सबभन्दा ठूलो सफलता हात पार्ने लक्ष सहित मेरो खेल शुरु भईसकेको छ ।

म : यत्रो मानव संकटमा पनि ? मलाई त चित्त बुझेन है ।

साथी : राजनीतिक सफलता संकटमै प्राप्त गर्ने हो । देशमा अझै महासंकट आए हुन्थ्यो भन्ने सोचाईमा छु म ।

म : ओहो ! मेरो त भेजाले काम गरेन । राजनीति त यस्तो पो हो ? अलि प्रष्ट पारिदिनु हुन्थ्यो कि ?

साथी : तपाईं राजनीतिको गोलचक्कर बुझ्नुहुन्न । मेरो भगिरथ प्रयत्नका बाबजुद यो सरकारले भद्रगोल हुनै दिएन, नेपालमा मैले चाहेजति कोरोना संक्रमण हुनै दिएन । बेलैमा आवश्यक तयारी गर्यो । स्वास्थ्य सामग्रीको व्यवस्था भयो । प्रादेशिक तथा स्थानीय तहले बडो तदारुकताका साथ गरिरहे,गरिरहेका छन् । कोरोनाको संक्रमण संख्या अलि बढ्ला भनेको एकोहोरो अंकमै सीमित छ । यसले मेरो खेलमा अलि गाह्रो भएको छ ।

म : यो त सरकारले गरेको काम भयो । तपाईंचाहिँ के गरिरहनु भएको छ ?

साथी : तपाईं पनि पत्रकारजस्तो भएर प्रस्तुत हुनुभयो । तपाईंले देख्नु भएन ?

म : प्रायः मौन नै देखिन्छु । कहिलेकहीं उच्चस्तरीय विवादास्पद अभिव्यक्ति दिन्छु । तर मेरा सहयोगी हातहरु भद्रगोल निर्माण गर्न र सरकारलाई अप्ठ्यारो पार्न चौविसै घण्टा व्यस्त छन् । भंगेरे अक्षरमा पत्र – पत्रिकामा र सामाजिक सञ्जालमा सरकार, कोरोना सम्बन्धी भ्रमपूर्ण समाचार प्रसारण गरिरहेका छन् । तिललाई पहाड बनाउने नयाँ नयाँ तरिका सोचिदैछ । मेरा नजिकका लेखक, कलाकार व्यङ्गकर्मीलाई यो अन्तिम युद्ध हो आ–आफ्नो ठाउँमा जुटौं भनिएको छ । जति धेरै भद्रगोल त्यति धेरै ‘हाम्रो’ सफलता भन्ने नाराका साथ लागिएको छ ।

साथीको अर्को मोबाइलमा घण्टी बढ्यो । साथी हड्बडाए । कोही खास व्यक्तिको फोन हुनु पर्छ त्यो । साथी, म जीवनकै कठिन खेल खेलिरहेको छु अहिले । विगतका कैयन खेलमा जस्तो सजिलै भद्रगोल सिर्जना हुने छाँट छैन अहिले । त्यसकारण न्वारानदेखिको बल लगाएर देशमा भद्रगोल सिर्जना गर्नु छ । मेरालागि पनि यो साँच्चै अन्तिम ।

प्रतिक्रिया
सम्बन्धित