
काठमाडौं, २८ चैत । त्रिभुवन विश्वविद्यालयले आगामी बैशाख र जेठमा सञ्चालन गर्ने तालिका रहेका परीक्षा अनिश्चितकालको लागि स्थगित गरेको छ ।
बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुरुप वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको विश्वविद्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ।
वार्षिक परीक्षा प्रणालीअनुरुप २०७७ साल वैशाख र जेठमा सञ्चालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस, र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित गरिएको छ।
त्यस्तै पोस्ट ग्राजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्राजुएट इन वुमन स्टडिजको पूरा तथा आंशिक परीक्षा पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जानकारी दिएको छ।











प्रतिक्रिया