८ मंसिर २०८३, मंगलबार

नेपालमा भोकमरीको अवस्था आउन सक्छ : मन्त्री भुसाल

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । कृषि तथा पुशपंक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिस्थितिले नेपालमा पनि भोकमरीको अवस्था आउन सक्ने खतरा औल्याएका छन् ।

स्थानीय सरकारहरुलाई पत्र लेखी उनले कतिपय मुलुकले कृषि उत्पादनको निकासीमा बन्देज लगाउन थालिसकेको र अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्न कठिन हुने बताएका छन् ।

‘आगामी दिन झन् कठिन देखिन थालेका छन् । अन्तर्राष्ट्रिय लगानीमा हुने सङ्कुचनले वैदेशिक रोजगारीका हाम्रा अवसर खुम्चिँदै जानेछन् । अर्थात्, एकातिर वैदेशिक रोजगारीबाट फर्कनेहरूको सङ्ख्या बढ्नेछ भने अर्कोतिर हरेक वर्ष वयस्क हुने जनसङ्ख्यालाई रोजगारी अभाव हुँदै जानेछ’ उनले भनेका छन् ‘यसरी बेरोजगारी र गरिबी एकसाथ बढ्दै जानेछ । एकातिर अहिलेको प्रतिकूल परिस्थितिले खाद्यान्न उत्पादन घट्नेछ, फलतः आयात बढाउनुपर्नेछ तर, अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्नु हाम्रा लागि थप कठिन हुँदै जानेछ ।’

अहिले देखा परेका सामाजिक–आर्थिक चुनौतीको सामना गर्न कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले त्यसका लागि नयाँ संकल्प र योजना आवश्यक परेको बताए । आफैं केही समय अगाडि सार्वजनिक गरेको नेपालको कृषि क्षेत्र सुधारका पाँच नीतिबाटै कोरोना महामारी पछि निम्तन सक्ने सम्भावित संकट थेग्ने पनि उनले उल्लेख गरेका छन् ।

कृषिको संरक्षण र विकास नागरिकको खाद्यसुरक्षाको प्रत्याभूतिका हिसाबले सर्वोपरी महत्वको विषय हो । हाम्रो संविधान तथा कानूनी व्यवस्थाले पनि हरेक नागरिकलाई ‘पर्याप्त, पोषणयुक्त तथा गुणस्तरीय खाद्यमा नियमित पहुँच’ को अधिकार प्रत्याभूत गरेको छ । यसको प्रभावकारी कार्यान्वयन राष्ट्रको जीवनमा, संविधानले निर्दिष्ट गरेको समाजवादको अभ्यासमा एउटा कोशेढुङ्गा हुने मन्त्रि भुसालले लेखेका छन् ।