बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

हिरासतमा रहेका अग्रवाललाई छुटाउन मन्त्रीकाे चलखेल, मन्त्रीलाई नै बर्खास्त गर्न रावलकाे माग

दैनिक नेपाल २०७६ चैत २८ गते ९:०५

काठमाडौं, २८ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले कालोबजारी र स्वास्थ्य सामग्री तस्करी प्रकरणमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन चलखेल गर्ने उद्योग, आपूर्ति तथा वाणिज्य राज्यमन्त्री मोतीलाल दुगण्डलाई बर्खास्त गर्न माग गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले स्वास्थ्य सामग्रीमा कालोबजारी प्रकरणमा पक्राउ परेका सुलभ अग्रवाललाई कानूनअनुसार कारबाही गर्नुपर्ने बताए ।

प्रहरी हिरासतमा रहेका सुलभ अग्रवाललाई भेट्न मन्त्रीको सरकारी झण्डावाल गाडीमा आपूर्ति राज्यमन्त्री दुगड गएपछि आलोचना भएको थियो । राज्यमन्त्री अग्रवाललाई तत्काल पदमुक्त गर्न रावलले माग गरेका छन् ।

नेकपाका नेता रावलले यस्ता अपराधमा संलग्नहरूलाई बचाउनका लागि गैरकानूनी ढंगले चलखेल गर्न खोज्ने कसैलाई पनि सरकारमा बसेर झण्डा हल्लाउने अधिकार नभएको बताए । प्रधानमन्त्री केपी ओलीले दुगडलाई तत्काल पदमुक्त गर्न रावलले सुझाव दिए ।

नेता रावलले पार्टीमा आजीवन त्याग गरेकालाई लत्याएर जो पायो त्यही भ्रष्ट र कालाबजारिया गर्नेहरूलाई सरकारमा सामेल गराउने गलत प्रवृतिले यस्तो भएको बताए ।

रावलले पार्टीमा कुनै योदान नभएकालाई सरकारमा सहभागी गराउने र उनीहरूले गरेका काला कर्तुतको बचाउमा लाग्ने संरक्षकमाथि पनि कारवाही हुनुपर्ने माग गरेका छन् ।

सरकारले केही भ्रष्टाचारीहरूलाई कारवाही गरेपनि धेरै भ्रष्टहरू कारवाहीमा नपरेको रावलले बताए । उनले संकटको समयमा यस्ता भ्रष्टाचारका कुरा आइरहँदा पनि कारवाही गर्न छाडेर संरक्षणमा लाग्नु राज्यको लाचारीपना भएको बताए ।

लकडाउनका कारण जनता हिँडेर घर गइरहेको भन्दै रावलले भने, ‘लकडाउनले जनता समस्यामा परेका छन् । हिँडेर घर गएका छन् । कि खानपिनको व्यवस्था गर्नुप¥यो । होइन भने घर जाने व्यवस्था गर्नुपर्छ ।’

‘सरकारमा जो पायो त्यसैलाई लाने काम गलत भयो । योगदान भएका मान्छेले अबसर नपाउने भए’, उनले भने, ‘यसको जरो कहाँ छ त्यो खोजेर कारवाही गर्नुपर्छ ।’

उनले सुदूरपश्चिम प्रदेशमा भएको साधन स्रोतको परिचालन गरिएको बताए । थप उपकरण र चिकित्सिक पठाउनुपर्ने भन्दै रावलले धनगढीमा मात्र पठाएर नपुग्ने बताए ।

आपूर्ति व्यवस्था मिलाउनुपर्ने, सीमापारी बसेकालाई तुरुन्त ल्याउनुपर्ने बताएका रावलले सरकारले कुनैपनि निर्णय हावाका भरमा गर्न नहुने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित