३ कार्तिक २०८३, मंगलबार

लकडाउनको मौका छोपी मूल्यवृद्धि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । सरकारले लकडाउन गरेपछि त्यसको फाइदा उठाउँदै केही व्यवसायीले खाद्यान्नको मूल्य बढाउन थालेका छन् । ढुवानी भाडा बढेको र सामान ओसार्ने चालक नपाएको जनाउँदै उनीहरूले मूल्य बढाएका हुन् । लकडाउनयता सामानअनुसार किलोमा ५ रुपैयाँदेखि २० रुपैयाँसम्म मूल्य बढेको खुद्रा तथा होलसेल व्यवसायी बताउँछन् ।

‘मूल्य बढ्नुको उचित कारण छैन। तर मिल र आयातकर्ताले त्यत्तिकै खाद्यान्नको मूल्य बढाएका छन्,’ टोखा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय फुयालले भने, ‘विदेशबाट आयात छैन, स्वदेशी उत्पादनमै मूल्य बढाए।’ मिलबाट मूल्य बढ्दा त्यसको असर वितरक, होलसेल हुँदै खुद्रामा समेत पर्ने उनको भनाइ छ। होलसेलमा चामलको मूल्य प्रतिकिलो ४ रुपैयाँ, चनामा १५ रुपैयाँ र केराउमा १० रुपैयाँ बढेको छ। रहर दाल र खाने तेलको मूल्य पनि सोही अनुपातमा बढेको उनले बताए।

‘लकडाउनले लेबर खर्च सामान्य बढेको छ। त्यो खर्च किलोमा १ रुपैयाँ नै बढे पनि बजार मूल्य अस्वाभाविक बढ्न नपर्ने हो,’ होलसेल व्यापारीसमेत रहेका फुयालले भने, ‘फ्याक्ट्रीमा जति मूल्य बढ्यो, आयातकर्ता र बिक्रेताले त्यति नै बढाउँछन्। त्यसको मार उपभोक्तामा पर्छ।’ व्यवसायीका अनुसार अहिले खाद्यान्नको माग बढ्दो छ। तर ढुवानी गर्ने चालक र सवारी छैनन्। भएका चालकले पनि ढुवानी गर्न मान्दैनन्। भाडा बढे मात्रै चालक ढुवानी गर्न तयार भएको व्यवसायी बताउँछन्।

‘विराटनगर–वीरगन्जबाट सामान ढुवानी गर्ने चालक छैनन्। ढुवानी भाडादर पनि दोब्बर बढाएका छन्,’ खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘अहिले विषम परिस्थिति भएकाले दुई–चार रुपैयाँलाई सामान्य मान्नुपर्छ।’ सामान्य दिनमा ट्रकहरूले सामान लिएर काठमाडौं आएपछि फर्किंदा पुनः सामान लिएरै जान्थे। लकडाउनले एकतर्फी मात्रै ढुवानी भइरहेको संघको भनाइ छ। जसले गर्दा ट्रक र चालकले खाद्यान्न ढुवानी गर्न नमानेका हुन्।

हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दो क्रममा छ। मूल्य घटेपछि आयल निगमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको छ। निगमले प्रतिलिटर ५ रुपैयाँभन्दा बढी मूल्य घटबढ गर्दा वैज्ञानिक फर्मुलाअनुसार सवारीको भाडा पनि सोहीअनुसार कायम गर्नुपर्छ। तर यातायात व्यवसायीले भने ढुवानी भाडा दोब्बर पुर्‍याएका छन्। ‘मौकाको फाइदा उठाउँदै मिल, चालक र व्यवसायीको मिलेमतो देखियो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘ढुवानी भाडा घटाउनुपर्नेमा बढाउनु भनेकै बजारभाउ बढाउने खेल हो।’ गम्भीर परिस्थितिमा अनैतिक कार्य गर्ने व्यवसायीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ। तर नियमक निकाय मौन बस्दा यसमा सरकारको पनि मिलेमतोको आशंका उब्जिएको उनी बताउँछन् । राजु चाैधरीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।