बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

ओम्‍नी, तुलहरि र युवराज शर्माको बालुवाटार सम्बन्ध, ओम्‍नी ब्रान्डमा तुलहरिको व्यापार

दैनिक नेपाल २०७६ चैत २८ गते ७:१८

काठमाडौं, २८ चैत । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद प्रकरणअघि व्यावसायिक क्षेत्रमा तुलहरिसिंह भुसाल खासै सुनिएको नाम होइन । उनी नेपालको ठूलो व्यावसायिक घरानाका व्यक्ति होइनन् ।

राजनीतिक रूपमा पनि त्यति सक्रिय वा पहुँचवाला होइनन् तर कान्तिपुरलाई प्राप्त विवरणमा उनी कर्पाेरेट क्षेत्र र सरकारी निकायहरूको ठेक्कापट्टामा जम्दै गएको देखिन्छ। ‘उहाँले जुन दिनबाट व्यापार गर्नुभयो, पछाडि फर्किएर हेर्नुपरेन,’ तुलहरि निकट स्रोतले भन्यो, ‘कर्पोरेट क्षेत्रमा होस् वा सरकारी, उहाँको कम्पनीले ठेक्का हालेको ठाउँमा पछि हट्नै परेन।’

विश्व बैंक र एसियाली विकास बैंकमा परामर्शदाताका रूपमा काम गर्दागर्दै अर्घाखाँचीका तुलहरि ०६३ असार ४ गते ओम्नी बिजनेस कर्पाेरेट इन्टरनेसनल (ओबीसीआई) नामक कम्पनी खोलेर व्यापारतर्फ मोडिएका हुन्। त्यतिखेर उनी ललितपुरको कुपन्डोलस्थित दुर्गाप्रसाद बेल्बासेको घरमा भाडा तिरेर बस्थे। तुलहरिले उनै घरधनी बेल्बासे र साबिक सिद्धबाबा गाविस–९ अर्घाखाँचीका भानुभक्त भट्टराईका नाममा ओबीसीआई कम्पनी दर्ता गरे। आफ्ना नाममा कम्पनी दर्ता नगरी उनले सुरुवाती दिनदेखि नै व्यापारिक चलाखी गरेको देखिन्छ।

सूचना प्रविधिमा पोख्त भुसालले ओम्नीकै ब्रान्डबाट कम्प्युटर आपूर्ति सुरु गरे। सुरुमा उनले सबैभन्दा धेरै व्यापार बैंक तथा वित्तीय संस्थाहरूसँग गरे। ‘सिटिजन्स बैंकसँगको यस्तै प्रकृतिको कारोबार नै बैंकिङ क्षेत्रमा उहाँले थालेको सप्लाइको पहिलो बिन्दु हो,’ भुसाल निकट स्रोतले भन्यो। उनका अनुसार ०६३ सालयता इलेक्ट्रोनिक सामग्री खरिदसम्बन्धी ओम्नीले टेन्डर हालेका ठाउँमा अरू कसैको पर्ने सम्भावना शून्यप्राय छ। ‘हामीले चिनेकै आधारमा कतिपय आईटीका सामान आपूर्ति गर्ने साथीहरूलाई टेन्डर भर्नुस् न भन्थ्यौं,’ ६४/६५ सालतिरको कुरा स्मरण गर्दै स्रोतले भन्यो, ‘उनीहरूले हालेका ठाउँमा नहाल्ने भन्ने जवाफ दिन्थे। हुन पनि तुलहरिजीले फ्याक्ट्रीकै मूल्यभन्दा सस्तोमा कोटेसन भर्नुहुन्थ्यो, उहाँलाई नै काम नदिई सुखै हुन्थेन।’

त्यसरी सस्तो सामान दिन कसरी सम्भव हुन्छ भन्ने जिज्ञासामा स्रोतले भन्यो, ‘कसैले किनेको मेसिनरी सामान केही महिना चलाएपछि कुनै कम्पनीलाई बेच्ने हो। निश्चित समय मात्रै त्यस्ता सामान चाहिने र फेरि लिलामीबाट बिक्री गर्ने परियोजना हुन्छन्। त्यस्ता निकायबाट उनैले ती सामग्री प्राप्त गर्थे र मोडिफाइ गरेर फस्ट ह्यान्ड भन्दै बिक्री गर्थे। यस्ता सामान ३० देखि ४० प्रतिशत कम मूल्यमा बेच्दा पनि घाटा लाग्दैन।’

तुलहरि वारेन्टी/ग्यारेन्टीको नक्कली कागजसमेत बनाउँथे। ‘यस्तो काम गर्न सरकारी निकायमा त निकै सजिलो छ,’ स्रोतले भन्यो, ‘बैंक तथा वित्तीय संस्थामा समेत यस्तो धन्दा सजिलै चल्दोरहेछ।’ हुन पनि नेपालको बैंक तथा वित्तीय संस्थाले कतिपय एटिएम मेसिनदेखि विभिन्न प्राविधिक उपकरण ‘सेकेन्ड ह्यान्ड’ खरिद गरेर ग्राहकको तथ्यांक र नगद मौज्दात सुरक्षित नगरेको विवरण सार्वजनिक भइसकेका छन्। ‘तर ती सबै सामग्री तुलहरिले नै बिक्री गरेका भने हैनन्,’ स्रोतले भन्यो, ‘बैंकहरूमा यस्तो धन्दा झन् सजिलो छ भन्न खोजेको मात्रै हो।’ संघ, प्रदेश र स्थानीय तहको गत निर्वाचन ताका ओम्नीले निर्वाचन आयोगमा यस्तै सेकेन्ड ह्यान्ड प्रिन्टर बिक्री गरेको थियो।

कम्प्युटर आपूर्तिको सफलतासँगै तुलहरिले बिस्तारै व्यापारको दायरा बढाए। ६३/६४ ताका देशमा ‘लोडसेडिङ अन्धकार’ बढेसँगै उनले हात हालेको जेनेरटरको व्यापार पनि चम्कियो। यही क्रममा चिनियाँ व्यापारीसँगको सम्बन्ध पनि दरिलो बन्दै गयो। ‘उहाँ कम्तीमा महिनाको एकपटक चीन जानुहन्छ,’ ओम्नीसँग आबद्ध एक कर्मचारीले भने।

तुलहरिको कम्पनी विस्तार भएर भारत र सिंगापुरसम्म पुग्यो। कान्तिपुरलाई प्राप्त कागजातअनुसार उनले सिंगापुरस्थित आफ्नै कम्पनी ब्यांकोटेकमार्फत नेपालमा सामान आपूर्ति गर्दै आएका छन्। २०६६ पुस २० (जनवरी ४, २०१०) मा सिंगापुरमा दर्ता गरिएको यो कम्पनीमा तुलहरिको ९० प्रतिशत सेयर छ भने एक जना स्थानीय साझेदार छन्। सिंगापुरमा पनि ओबीसीआई नाम गरेको कम्पनी छ, जसको लगानीकर्ता भने खुल्न सकेन।

तुलहरि भारतको टेक्नोलोजिज प्राइभेट लिमिटेड कम्पनीका निर्देशक हुन्। यसमा उनले आफ्नो नाम तुलबहादुर सिंह (हरि) लेखेका छन्। कान्तिपुरलाई प्राप्त कागजातअनुसार उनले ‘तुलबहादुर, तुलहरि, तुल नाम र सिंह, भुसाल थरलाई फरक फरक ठाउँमा फरक फरक रूपमा प्रयोग गर्ने गरेका छन्। नाम फरक पारे जस्तै उनको बसाइ पनि फरक फरक देशमा हुने गरेको छ। नेपाल, भारत, दुबई, सिंगापुर र पछिल्लो सयम चीनका व्यापारिक मुकाममा लगभग उत्तिउत्तिकै दरमा उनको बसाइ हुने गरेको उनीनिकट स्रोतले बतायो। ‘तीन वर्षअघि क्यान्सरको उपचार तुलहरिले सिंगापुरमै गराएका थिए,’ स्रोतले भन्यो, ‘गैरनागरिकका लागि सिंगापुरको स्वास्थ्य उपचार निकै महँगो मानिन्छ।’ उनले सिंह थरकी भारतीय युवतीसँग विवाह गरेका हुन्।

व्यावसायिक सफलतासँगै तुलहरिको सम्बन्ध अल्फाबिटाका सञ्चालक द्विराज शर्मासँग भयो। २ वर्षअघि तुलहरि र द्विराज मिलेर सानेपामा सगोलमा घर र जग्गा किने, जुन घरमा पहिला नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई बस्थे। पछि उनीहरूले भागबन्डा गरेर घर द्विराज र जग्गा तुलहरिका नाममा गरे। त्यसपछि तुलहरिले सानेपामै दुइटा घर जोडे, एउटामा उनी बस्छन् भने अर्को विदेशीलाई भाडामा लगाएका छन्।

द्विराजका दाजुुभाइ युवराज र भीष्मराजसँग पनि तुलहरिको सम्बन्ध भयो। उनीहरूका बुबा शिवप्रसाद शिवाकोटी झापा आन्दोलनमा संलग्न थिए। त्यही सम्बन्धका आधारमा शर्मा दाजुभाइ प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिल्यैदेखि निकट थिए। द्विराज र युवराजको संगतले ओम्नीका मालिक तुलहरिलाई प्रधानमन्त्री कार्यालसम्म पहुँचका लागि ढोका खुल्यो। त्यो सम्बन्धको प्रमाण प्रधानमन्त्री कार्यालयको वार रुम हो। वार रुम पनि ओम्नीले निकै सस्तोमा बनाएको जानकारहरू बताउँछन्। ‘अरूले ७ करोडमा टेन्डर हाल्दा ओम्नीले ४ करोडमा हालेको थियो,’ स्रोतले भन्यो, ‘यो उसको पहिल्यैदेखिको तरिका हो।’ त्यही बेलै ओम्नीसँग सरकारले मन्त्रीहरूका लागि भनेर ७५ थान एप्पलको म्याकबुक किनेको थियो। जबकि मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय मात्रै हुने संवैधानिक प्रावधान छ।

ओम्नी र सरकारबीचका सम्बन्ध सेतु उनै युवराज नै हुन्। ठेक्का मिलाइदिएबापत युवराजले ओम्नीबाट निश्चित रकम कमिसन बुझ्ने गरेको स्रोतको भनाइ छ। युवराजको यो काममा उनका जेठान रविन श्रेष्ठ पनि जोडिन्छन् तर ओम्नीको प्रवक्ता भन्दै हिँडिरहेका रविनको यसअघि उक्त कम्पनीसँग कुनै सम्बन्ध थिएन। ‘रविन श्रेष्ठ नाम गरेको कोही मान्छे ओम्नीमा आएको देखेको छैन,’ ओम्नीका ती कर्मचारीले भने, ‘एकाएक प्रवक्ता भनेर प्रचार भएपछि हामी छक्क पर्‍यौं।’ श्रेष्ठ काठमाडौंमा विज्ञापन एजेन्सी चलाउँछन्। युवराजकै कारण हुनुपर्छ, उनको पनि बालुवाटार आउजाउ एकदमै बाक्लो हुन्छ। कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित