काठमाडौं, २८ चैत । ओम्नी ग्रुपका लागि स्वास्थ्य सामग्री ल्याउन सरकारले चार्टर गरेको नेपाल एयरलाइन्सको जहाजले चैत २० गते २० हजार थर्मल गन पनि ल्याएको प्रहरीले ढिलो सूचना पायो। थाहा पाउँदा ती सामान गायब पारिसकिएका थिए। भन्सारमा हेर्दा सुलभ अग्रवालले ल्याएको खुल्यो। तर, भन्सार तिरिएको थियो १२ सय वटाको मात्र।
यसलाई प्रहरीले ठूलै रहस्य ठान्यो। र, तीव्र अनुसन्धान सुरु गर्यो। नाटकीय क्रेता बनेर सुलभसँग ‘डिल’ गर्यो। बार्गेनिङपछि प्रतिगोटा १५ हजार रुपैयाँमा कुरा मिल्यो। सुलभ आफैं कूटनीतिक प्रयोजनको गाडीमा राखेर सामान पुर्याउन आए। त्यही क्रममा पक्राउ परे।
उनले भन्सारमा यसको प्रतिगोटा मूल्य २ सय अमेरिकी डलर (करिब २३ सय रुपैयाँ) देखाएका छन्। चीनबाट ल्याउँदा पर्ने सरदर मूल्य त्यही हो।
त्यस आधारमा उनले २० हजार वटाको बढीमा ५ करोड रुपैयाँ तिरे। प्रहरी अनुसन्धानले भन्छ– प्रतिगोटा १५ देखि २२ हजारमा बेचे। १५ हजारलाई नै आधारमूल्य मान्ने हो भने पनि बेचेर ३० करोड रुपैयाँ आउँछ। त्यसबाट २५ करोडभन्दा बढी नाफा हुन्छ। प्रहरी स्रोतका अनुसार उनले करिब–करिब त्यो बेचिसकेका छन्।
शंकर ग्रुपका सुलभ अग्रवाल कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेपछि उद्यम क्षेत्रमै हलचल मच्चिएको छ। कोरोना भाइरस (कोभिड १९) मा व्यवसायीले सेवाग्राहीलाई सहयोग गर्नुपर्नेमा उल्टै कालोबजारीमा उत्रिएपछि प्रहरीको ध्यानसमेत उच्च व्यापारिक घरानातिर केन्द्रित भएको छ।
मंगलबार प्रहरीसँग प्रतिगोटा थर्मल गनको १६ हजारमा बार्गेनिङ गरेका अग्रवाल बल्लतल्ल १५ हजारमा मानेका थिए। उनले आफू बस्ने घर बालुवाटारनजिक नक्सालमा ६७ वटा थर्मल गन बिक्री गर्ने डिल गरेपछि प्रहरी टोली उतै पुग्यो। सरकार, प्रशासन, राजनीतिक दल र अन्य उद्यमीसँग राम्रै उठबस गर्ने अग्रवालले आफू प्रहरीको पासोमा पर्छु भन्ने सोचेका थिएनन्। जब प्रहरीले डिल गरेर किन्न पैसा देखाए। तब थर्मल गन हात पर्नेबित्तिकै हामी प्रहरी हौं भनेपछि उनी झल्याँस्स भए। केहीबेर प्रहरी र अग्रवालबीच घम्साघम्सी भयो। अग्रवाल उम्कने कुरै भएन। उनी निरास हुँदै प्रहरी भ्यानमा बसे।
प्रहरीले बरामद गरेको ६७ थान थर्मल गन एक व्यापारीसँग लिएको उनले बयान दिएका छन्। तर, प्रहरीसँगको सुरुको डिलमा भने उनले चीनबाट ल्याएको कुरा चुहाइसकेका थिए। अग्रवालले फ्ल्यास कार्गोबाट ल्याइएको उक्त सामान र ओम्नी समूहले ल्याएको करोडौंको स्वास्थ्य सामग्री एउटै विमानबाट नेपाल झरेको सूचना आएअनुसार अपरेसन थालिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी हृदय थापाले जानकारी दिए।
अग्रवालले प्रहरीलाई थप केही बताउन चाहेका छैनन्। ठूलो परिमाणको थर्मल गन डिल गर्नेदेखि बिक्रीसम्ममा अग्रवाल आफैं अग्रसर भएकाले पनि प्रहरीलाई थप रहस्य खोतल्न हम्मेहम्मे परिसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए। ती अधिकृतले भने, ‘अग्रवाल धेरै चलाख देखिए। उनले चीनबाट ल्याएको ठूलो परिमाणको थर्मल गन बिक्रीमा आफैं जाने र व्यापारीसँग डिल गर्ने गरेको देखियो। चेकमा नभएर क्यासमै कारोबार गरेको पनि पाइयो। काठमाडौंमा उनीआबद्ध संस्थामा समेत हाम्रो निगरानी छ।’
प्रहरीले अग्रवालको नक्सालस्थित कार्यालय र बालुवाटारस्थित घरमा छापा मार्दा थर्मल गनको स्टक नभेटिएको महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले जानकारी दिए। पक्राउ परेलगत्तै अग्रवालले दुई सय पिस थर्मल गन न्युरोडको एक पसलबाट खरिद गरेको बयान दिएका थिए। तर, प्रहरीले प्रमाणले घेरेसँगै उनी निःशब्द बनेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए। ती अधिकृतका अनुसार अग्रवालले छिट्टै करोडौं कमाउने योजनाअनुसार सेटिङमा सामान नेपाल ल्याएको देखिन्छ। तर, अन्य सामान फेला पार्न नसक्दा अनुसन्धानमा थप सकस परेको उनले बताए। अन्नपूर्ण पाेस्ट दैनिकमा सुवास गाेतामेले समाचार लेखेका छन् ।















प्रतिक्रिया