बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

प्रधानमन्त्रीले स्वास्थ्य सामग्री खरिदबारे धेरै जानकारी छैन भन्नुभयोः खनाल

दैनिक नेपाल २०७६ चैत २७ गते ८:३६

काठमाडौं, २७ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको निर्णय, निर्देशन र सुझावअनुसार सरकारले अझै प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा खनालले सरकारका काम प्रभावकारी नभएको जनगुनासो बढेपछि सचिवालयको बैठक डाकिएको बताए ।

उनले बैठकमा सरकारका कामकारवाहीदेखि देशभरिको अवस्थाका विषयमा छलफल गरेको जानकारी दिए ।

नेता खनालले स्वास्थ्य सामग्री खरिदमा चलेको हल्लाका विषयमा प्रधानमन्त्री केपी ओलीलाई सोधिएको बताए ।

कोरोना भाइरसको संक्रमणविरुद्धका कार्यक्रमहरूलाई प्रभावकारी रुपमा लैजाने र स्वास्थ्य सामग्री लगायतका सामान खरिद गर्दा अनियमितता भए नराम्रो हुने चेतावनी दिएको उनले बताए ।

उनले स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको विषयमा आफूलाई पनि धेरै जानकारी नभएको प्रधानमन्त्री ओलीले बताएको बताए । अन्य धेरै विषयमा आधा जसोको मात्रै जवाफ आएको खनालले बताए ।

नेकपाका नेता खनालले अनियमितता भएको हो भने उनीहरूमाथि कडाभन्दा कडा कारवाही गर्न प्रधानमन्त्रीलाई भनिएको बताए ।

कुनै पनि नेकपाका नेता वा मन्त्रीले भ्रष्टचार गरेको ठहर भए पार्टीले उसलाई छुट दिन नसक्ने खनालले चेतावनी दिए ।

‘स्वास्थ्य सामग्री खरिदमा प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भन्न सक्नु भएको छैन’, खनालले भने, ‘सरकार प्रभावकारी भएन भने अहिले राष्ट्र लथालिङ्ग हुने छ । यो विपत्तिमा औचित्य पुष्टि हुने गरी सरकारले काम गर्नुपर्छ ।’

पार्टीभित्र अहिले नै सरकार र मन्त्रीहरूको विकल्पबारे छलफल नभएको खनालले जानकारी दिए । खनालले पार्टीको भावन विपरित गएर कुनै पनि मन्त्रीले काम गरेको भेटिए वा सरकारले प्रभावकारी काम गर्न नसके सरकारबारे निर्णय गर्न पार्टी बाध्य हुने खनालले चेतावनी दिएका छन् ।

‘दुइतिहाको बहुत छ । जनताले साथ दिएका छन् । सरकारले पारदर्शी भएर काम गर्नुपर्छ’, वरिष्ठ नेता खनालले भने, ‘त्यसो भएन भने पार्टीले गम्भीर निर्णय गर्न सक्छ । सरकारले काम गरेन भने पार्टीले निर्णय गर्छ ।’

‘हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ । राम्रो काम गर्नुस् भनेका छौँ’, खनालले भने, ‘पार्टीको सुझावअनुसार प्रधानमन्त्रीले काम गर्नुपर्छ । त्यो भएन भने विकल्पका कुरा आउँछन् ।’

प्रतिक्रिया
सम्बन्धित