बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

‘दलका नेताहरूलाई कोठाभित्र राख्ने होइन, जनताको सेवा गर्न पठाउनुपर्छ’

दैनिक नेपाल २०७६ चैत २७ गते ८:२०

काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत लकडाउनका समयमा सिन्धुपाल्चोक जिल्लामा स्वास्थ्य सामग्री र राहत वितरण गर्दा सत्तारुढ नेकपाका नेताहरूले कार्यकर्ता लगाएर अवरोध पु¥याएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग अन्तर्वार्ताका क्रममा पूर्वमन्त्री बस्नेतले आफूमाथि नेकपाले ठूलो अन्याय गरेको बताए ।

उनले सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेपनि सिन्धुपाल्चोक जिल्लामा कुनै पनि स्वास्थ्य सामग्री र राहत नपठाएको बताए । यस्तो अवस्थामा लकडाउनले समस्यामा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारणलाई सहयोग गर्दा नेकपाको टाउको दुःखाइ भएको बस्नेतले बताए ।

उनले सिन्धुपाल्चोक जिल्लामा सरकारले अहिलेसम्म कुनैपनि स्वास्थ्य सामग्री नपठाएको बताए । आफूहरूले आइसोलेशन र क्वारन्टाइन बनाउनेदेखि राहत बाँड्नेसम्मका काम गर्दा अवरोध पुर्‍याएको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले सरकारले सिन्धुपाल्चोकमा राहत नबाँडेको र कुनै पनि औषधि र चिकित्सकीय सामग्री नपठाएको दावी गरे ।

‘सरकारले स्वास्थ्य सामग्री खरिद गर्न सकेको छैन । जता गयो उतै कमिशनका कुरा मात्र अएका छन्’, उनले भने, ‘जसरी सरकार बोलिरहेको छ त्योअनुसार काम भएको छैन ।’ विश्वा स्वास्थ्य संगठनले भने अनुसार काम नगर्दा सरकार भएको जनताले अनुभूति गर्न नपाएको बस्नेतले बताए ।

ठूलाठूला अस्पतालमा पनि पीपीई जस्ता अत्यावस्यक सामान नभएको भन्दै उनले सिन्धुपाल्चोकका गाउँगाउँमा सामान पुर्‍याउँदा सरकारले नै अवरोध गरेको आरोप लगाए ।

माओवादी पृष्ठभूमि भएका नेकपाका नेताहरूको निर्देशनमा ठाउँ–ठाउँमा नेकपाका कार्यकताहरूले ढुवानी गर्न नदिएको बस्नेतले बताए । ‘नेकपाका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई मोहनबहादुर बस्नेतलाई समातेर थुन्नु भनेर दवाव दिइरहेका छन्’, बस्नेतले भने ।

‘चिकित्सकहरूलाई आवस्यक सामग्री नदिएकाले उनीहरू उपचार गर्न गएका छैन’, उनले भने, ‘सुरक्षाकर्मीलाई पनि स्वास्थ्य सामग्री दिइएको छैन ।’

‘लकडाउनका विषयमा आम जनताले साथ दिए पनि लकडाउनले मात्रै हुँदैन’, बस्नेतले भने, ‘राजनीतिक दलका नेताहरूलाई लकडाउन लगाउन हुँदैन । जनताको सेवा गर्न खटाउनुपर्छ । यस्तो बेला जनप्रतिनिधि लुकेर बस्नु हुँदैन । जनतालाई हौसला दिने र सेवा गर्ने बेला भनेको यस्तै समस्या परेका बेला हो ।’

तपाईले राहत वितरणमा एकद्वार नीतिको उल्लंघन गर्नुभयो भन्ने प्रश्नको जिज्ञासा कांग्रेस नेता बस्नेतले भने, ‘एउटा उदाहरण भन्छु । छ वर्ष अगाडि सिन्धुपाल्चोकको जुरेमा पहिरो गयो ।

पहिलो पीडितलाई राहत दिने भनेर जिल्ला दैविक प्रकोप समितिमा राहत रकम जम्मा गरियो । त्यो रकम दुई करोडभन्दा धेरै जम्मा भएकोम छ । त्यो सहायता अहिलेसम्म वितरण भएको छैन । अब भन्नुस् हामीले त्यो कामै नगर्ने समितिलाई दिने कि भोकै मर्न थालेका जनता र पीपीई नपाएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री दिने ? पहिला हामीले जनता र स्वास्थ्यकर्मीलाई नै सहयोग गरेका छौँ ।’

प्रतिक्रिया
सम्बन्धित