शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट तीन नेपालीको मृत्यु

दैनिक नेपाल २०७६ चैत २७ गते ६:४५

लण्डन, २७ चैत । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा तीन नेपालीको मृत्यु भएको छ । उनीहरूमध्ये दुई जनाको बुधबार र अर्का एकजनाको मंगलबार मृत्यु भएको हो ।

लण्डनको ह्यारोमा बस्दै आएका ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको मंगलबार लण्डनस्थित नर्थविकपार्क अस्पतालमा निधन भएको छ ।

पारिवारिक स्रोतकाअनुसार रुघाखोकी, ज्वरो लगायतका लक्षण देखिएर केही दिन घरमै आइसोलेसनमा बसेका उनी १ साताअघि अस्पताल भर्ना भएका थिए ।

मधुमेहका रोगी समेत रहेका उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।

पर्वत पैंयू स्थायी घर भएका गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका थिए । मंगलबार गुरुङको निधन भएकै नर्थविक अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ ।

नातीको बिहेका लागि केही महिनाअघि बेलायत आएका करीव ७७ वर्षका मृतक कोरोना महामारीकै कारण नेपाल फर्किन नपाएर लण्डनमै रोकिएका थिए ।

उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपनि परिवारले विवरण गोप्य राख्न चाहेको उनका आफन्तले बताएका छन् । नेपालबाटै सँगै आएकी मृतककी पत्नीसमेत अहिले लण्डनमै छिन् ।

बुधबार नै बेलायतको नटिङहममा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा शिव श्रेष्ठको पनि निधन भएको छ । करीब १ साताअघिदेखि आइसोलेसनमा बस्दै आएका श्रेष्ठ श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए ।

बुधबार दिउँसो अस्पतालमै मृत्यु भएका उनलाई ह्दयघातको समेत आशंका गरिएको छ । सोलुखुम्बु घर भएका श्रेष्ठका श्रीमती र दुई छोरासहित बेलायतमा बस्दै आएका थिए ।

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीहरूको संख्या ५ पुगेको छ । यसअघि ६६ वर्षीय पूर्व गोर्खा लीलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको पनि दुई साताअघि लण्डनमै कोरोनकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित