सोमबार, ५ जेठ २०७७
DainikNepal.com
सोमबार, ५ जेठ २०७७

चिकित्सकका लागि सामाग्रीको अभाव हुन्न : मन्त्री ढकाल

दैनिक नेपाल २०७६ चैत २६ गते २१:२६

काठमाडौं, २६ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्ती भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिने प्रतिबद्धता दोहोर्याउनु भएको छ ।

बुधबार मन्त्रालयमा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन जना सांसदको संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरस (कोभिड-१९)को उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताउनुभयो ।

आवश्यक स्वास्थ्य सामग्रीहरू अस्पतालमा पुगेको भन्दै कतिपय सामाग्रीहरू निरन्तर पुर्याइने बताउनुभयो । सुदूरपश्चिम प्रदेशको संवेदनशीलतालाइ सरकारले बुझेको भन्दै उहाँले कोभिड-१९ को नमुना परीक्षणको काम दोब्बर बनाउनका लागि बुधबारमात्रै हेलिकप्टर मार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिनुभयो । मन्त्री ढकालले नागरिकको तर्फबाट समेत सकारात्मक सहयोगको निम्ति भूमिका निर्वाह गरिदिन सांसदत्रयलाई अनुरोध गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाममा भैरहेको काम थप प्रभावकारी बनाउने विषयमा आफ्नो भनाइ राख्दै बझाङ्गका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले नागरिकहरू अहिले पनि सीमावारपार गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित