शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेकपा सचिवालय प्रधानमन्त्री ओली र सरकारसँग सन्तुष्ट हुनुको कारण

दैनिक नेपाल २०७६ चैत २६ गते ८:२९

काठमाडौं, २६ चैत । कोरोना भाइरस (कोभिड १९) विरुद्ध सरकारले चालेका कदमका विषयमा नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले केही विषयको चासो राख्दै सन्तोष प्रकट गरेको छ ।

सरकारले समयमा नै लक डाउनको घोषणा गरेको र कोरोनाका सम्भावित ठूलो जोखिमबाट जनतालाई जोगाउन उचित निर्णय भएको मंगलबारको बैठकमा सचिवालय सदस्यले सन्तोष जनाएका थिए ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, सदस्य तथा सरकारी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललगायत बैठकमा सहभागी थिए ।

सरकारले गरेका काम र रोकथामका प्रयासका सन्दर्भमा प्रधानमन्त्री ओलीले सचिवालय सदस्यलाई सुनाएका थिए । सामान खरिदका प्रकरणमा प्रधानमन्त्री सचिवालय सदस्यको नाम जोडिएर आएको भ्रष्टाचारको विषयमा पनि बैठकमा कुरा उठेको थियो ।

उक्त विषयमा प्रधानमन्त्री ओलीले आफूलाई जानकारी नभएको र कसैको संलग्नता वा नेकपा र सरकारको नाम बदनाम गराउने काम भए कारबाही गरिने बताएका थिए । योसँगै सरकार विरोधी र नेकपा विरोधी कतिपयले गलत हल्ला चलाएर बदनाम बनाउने कोशीश भएको, त्यो बदनामी भन्दा खरिद प्रक्रिया नेपाली सेनालाई नै जिम्मा दिइएको प्रधानमन्त्री्ले बताएका थिए ।

मिर्गौला प्रत्यारोपण अघि तथा पछि भएका बैठकमा भन्दा ओलीले यस पटक लामो समय दिएका थिए । झन्डै डेढ घन्टा ओलीले यो महासंकटबाट जोगिनका लागि पार्टीका विभिन्न संरचनाले सचेतना अपनाउनुपर्ने पनि परामर्श भएको थियो ।

उच्चस्तरीय समितिका संयोजक पोखरेलले कोरोना भाइरसको प्रकोप फैलन नदिनका लागि भएका विविध प्रयास र निर्णयका सन्दर्भमा सचिवालयमा जानकारी गराएका थिए ।

सचिवालयका सदस्यहरु सरकारको कामका कारण सन्तुष्ट रहेका छन् । कोरोना भाइरसको प्रकोप फैलन नदिनका लागि सरकारले गरेका कामको सर्वेक्षणको रिपोर्ट पनि विश्व समुदायमा अति सन्तोषजनक रहेको भन्दै सरकार सजग भएर अघि बढ्नुपर्ने सुझाव सचिवालय सदस्यहरुले दिएका थिए ।

एक सचिवालय सदस्यका अनुसार यतिवेला सरकारलाई सहयोग गरेर अघि बढ्नका लागि सर्वदलीय छलफल गरी यो दुई साता सुरक्षित रहनका लागि जनतालाई अझ सूचित गराउनुपर्ने विषयमा पनि परामर्श भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित