३ कार्तिक २०८३, मंगलबार

उच्च क्षमताको मेसिन गुपचुप राखेर नयाँ माग

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ चैत । कोरोना परीक्षण गर्न पिसिआर मेसिन र किट नभएको भन्दै गण्डकी प्रदेश सरकारले सुरुका केही दिन सम्भावित संक्रमितको नमुना संकलन गर्दै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायो। मेसिन र किट अभाव भएको ठानेर संघीय सरकारले अघिल्लो साता कोरोना परीक्षण गर्ने एउटा पोर्टेबल मेसिन, केही किट, आवश्यक सामग्री र प्राविधिक पोखरा पठायो।

दुई लाख रुपैयाँ बढी भाडा तिरेर हेलिकोप्टरमा ती सामान ल्याइएपछि पोखरामै सम्भावित कोरोना संक्रमितको नमुना परीक्षण थालिएको भनेर प्रचारप्रसार गरियो। काठमाडौंबाट ल्याइएको मेसिनबाट नमुना परीक्षण सुरु भएको सबैतिर चर्चा भयो। तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को प्रयोगशालामा रहेको अर्काे पिसिआर मेसिनबारे भने सबै मौन बसे।

काठमाडौंबाट हेलिकोप्टर चार्टर गरेर ल्याइएको मेसिनभन्दा धेरै गुणा क्षमतायुक्त र भरपर्दाे मेसिन पोखरामै (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) भए पनि यहाँ कोरोना परीक्षण प्रयास नगरी मेसिन र किट नभएको भन्दै संकलित नमुना काठमाडौं पठाइयो। पोखरामा रहेको सो मेसिन बिग्रिएको भनेर पदाधिकारी पन्छिन खोजे।

पोखरामै रहेको क्षमतायुक्त मेसिनमा किट झिकाएर नमुना परीक्षण थाल्न सकिने अवस्था रहँदा पनि मेसिन नभएको भन्दै काठमाडौं पठाएर उच्चपदस्थ पदाधिकारी गैरजिम्मेवार बनेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारीको भनाइ छ। निर्देशनालयका एक अधिकारीका अनुसार संघीय सरकारले साताअघि पठाएको पोर्टेबल पिसिआरभन्दा क्षेत्रीय अस्पताल प्रयोगशालामा रहेको मेसिन निकै गुणस्तरयुक्त, भरपर्दाे र क्षमतायुक्त छ। तर, अस्पतालका पदाधिकारीले त्यो मेसिन प्रयोगमा ल्याउन नचाहेर गुपचुप राखेको ती अधिकारीले बताए।

‘एक महिना अघिसम्म साह्रै नै भरपर्दाे मेसिन पोखरामै छ। कोरोना परीक्षण पोखरामै भइहाल्छ भनेर अस्पतालका पदाधिकारी बोल्दै हिँडे,’ निर्देशनालयका ती अधिकारीले भने, ‘तर जब परीक्षण गर्नुपर्ने अवस्था आयो, त्यो बेला भने मेसिन बिग्रिएको भनेर पन्छिए।’

ती अधिकारीका अनुसार कामको भार थपिने र जोखिमको भयले अस्पतालले नै त्यो मेसिन गुपचुपमा राख्न खोजेको बुझिन्छ। सफ्टवेयर अपडेट गरेर आवश्यक किट झिकाएर सहजै परीक्षण गर्न सकिने सम्भावना हुँदाहुँदै अस्पतालले त्यसतर्फ चासो नदिएको उनले बताए।

‘सुरुमा आफूसँग भएको मेसिन प्रयोग नगरेर लुकाएर राख्न खोजियो, नयाँ मेसिन पाउने लोभ हो वा अरु भन्न सकिएन,’ निर्देशनालयका ती अधिकारीले भने, ‘अप्ठेरो परेका बेला भएभरको उपाय लगाउनुपर्नेमा मेसिन नै लुकाउने प्रयास गरियो। जिम्मेबारीबाट पन्छिने नियतले यसो गरिएको हुनसक्छ।’ नागरिक दैनिकमा सन्ताेष पाेखरेलले समाचार लेखेका छन् ।