शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रधानमन्त्रीको रहस्यमयी मौनता

दैनिक नेपाल २०७६ चैत २३ गते १०:३५

काठमाडौँ, २३ चैत । सरकारले लकडाउन घोषणा गरेपछिको पहिलो साता नेकपा नेतृत्वको सरकार निकै सक्रिय भयो । कोभिड–१९ को महामारीविरुद्ध लड्नका लागि भन्दै सरकारले विभिन्न निर्णय गर्‍यो, सरकारबाहिर रहेका पार्टीका अरू नेताहरू शान्तजस्तै देखिए । पछिल्लो समय स्वास्थ्य उपकरण खरिद प्रकरण बाहिर आएपछि ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका सचिवालय सदस्यहरू जुर्मुराएका छन्।

सचिवालयका अधिकांश सदस्यले जतिसक्दो छिटो सचिवालय बैठक बोलाएर सतहमा आएका विवादबारे स्पष्ट पार्न माग गरे पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको बेवास्ताका कारण बैठक बस्न नसकेको सचिवालय सदस्यहरूले नै बताएका छन्। सचिवालय सदस्य झलनाथ खनालले आफूहरूले बैठक बोलाउनुस् भनेर बारम्बार भने पनि अध्यक्षहरूले नबोलाएको बताए।

हामीले बैठक बोलाउनुस् भनेका छौं, छलफल गर्नुपर्ने इस्यु धेरै छन्,’ नेता खनालले भने, ‘खोई किन हो, अहिलेसम्म बोलाइएको छैन। केही सूचना पनि आएको छैन।’ उनले सचिवालय बैठक डाक्ने विषयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रयत्न गरिरहेको जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर फर्किएपछि नेकपा सचिवालयको बैठक एक पटक बसेको छ। गत चैत ५ मा बसेको बैठकले एसइई परीक्षा स्थगित गर्नुपर्ने, सीमा नाकामा आउजाउ रोक्नुपर्नेलगायत सुझाव सरकारलाई दिएको थियो। शीर्ष नेताहरूको सुझावकै आधारमा सरकारले चैत ६ देखि सुरु हुने एसईई परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो। त्यसयता मन्त्रिपरिषद्को बैठक तीन पटकसम्म बसेको भए पनि पार्टी सचिवालय बैठक भने बस्न सकेको छैन।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार विश्वभर महामारीका रूपमा फैलिरेहको कोभिड–१९ को आतंकका विषयमा अहिलेसम्म पार्टीभित्र औपचारिक छलफल भएको छैन।

‘कोभिड–१९ विरुद्ध सिंगो राष्ट्रलाई एकताबद्ध बनाएर सबै जुट्न जरुरी छ, त्यस विषयमा पार्टीमा एक पटक पनि छलफल भएको छैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘लकडाउन अवधि सकिने मिति पनि आउँदै छ, यसरी कहिलेसम्म जान सकिन्छ भन्नेबारे छलफल गरौं भन्ने हो तर बैठक आह्वान भएको छैन।’ उनले बैठक डाक्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच सहमति भए पनि कहिले बोलाउने भन्नेबारे जानकारी नआएको बताए।-कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया
सम्बन्धित